ललितपुर । सांस्कृतिक समाज नेपालले अन्तर दोहोरी साँझ स्तरीय “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” गर्ने भएको छ । काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा कार्यक्रम सम्पन्न गर्ने जानकारी दिइएको हो । यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिए । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक– एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए ।
सहभागी हुनेले दौरा सुरुवाल लगाएर मात्रै गाउने चलन अन्त्य गरि टाइसुटमा पनि गाउन पाउने कुरा संयोजक शर्माले बताए । कार्यक्रमको मुख्य प्रायोजक बिबिटिएम फाउन्डेसन रहेको छ । फाइनल कार्यक्रम नगरकोटमा सम्पन्न गरिने संयोजक शर्माले बताए । चाँगुनारायण नगरपालिकाले त्यसको सम्पूर्ण प्रबन्ध मिलाएको बताउदै उनले राष्ट्रिय दोहोरीगीत आइडल विजेताले ३३३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२२२२ नगद सहित स्कुटर पाउने पनि जानकारी दिए ।
सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जोशीले शुभकामना मन्तव्य दिएका थिए । कला क्षेत्रका बारेमा बताउँदै राष्ट्रिय दोहोरीगीत आइडल आयोजना गर्नु उत्कृष्ट कार्य भएको बताए । धेरै नेताहरुले वर्षाैं बहस गरेका कुरा दोहोरी गायक गायिकाले गाएको गीतले प्रष्ट पारिदिने गायक जोशीले बताए ।