काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय आज सकिँदैछ । बैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय आज अर्थात् बैशाख १२ गतेसम्मलाई मात्र तोकिएको छ ।
बैंकले निष्काशन गरेको ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ मा बैशाख २१ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको थियो । तर, समय अगावै मागभन्दा बढी आवेदन परेकाले वैशाख १२ गते नै निष्काशन बन्द गरिन लागेको हो ।
बैंकले एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।