काठमाडौं । राष्ट्र बैंकको स्वायत्ततामाथि आँच आउन नदिनका लागि यथाशक्य छिटो गर्भनर नियुक्त गर्न कर्मचारी युनियनका प्रतिनिधिहरुले सरकारसँग माग गरेका छन् । नयाँ गभर्नर नियुक्ति पेचिलो बन्दै गएका कारण बैंकको स्वायत्ततामाथि आँच दिनु हुँदैन भन्दै राष्ट्र बैंकका कर्मचारी युनियनका प्रतिनिधिहरुले गर्भनर नियुक्तिमा ढिलाइ नगर्न चेतावनी दिएका छन् ।
नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंककी कायममुकाय गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको बताएकी छिन् ।
मुद्रास्फीतिमा सुधार आएको, कुल विदेशी संचिति समेत पर्याप्त रहेको, निजी क्षेत्रको कर्जा विस्तार प्रभावकारी बन्दै गएको बताएकी हुन । बैंक तथा वित्तीय संस्थाहरुमा गैर सम्पत्ति बढ्दै गएपनि बैंकहरु कर्जा प्रवाह बढेको बताउँदै उनले लगानीलाई वातावरणमैत्री बनाउन नियामकीय सहुलियत दिइएको बताइन् । उनले भुक्तानी प्रणालीको सुरक्षाका राष्ट्र बैंकले काम गरेको, वित्तीय साक्षरतासम्बन्धि कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढाइएको बताइन् ।
उनले भनिन्– ‘अन्तरदेशीय भुक्तानी प्रणालीलाई समेत राष्ट्र बैंकले अघि बढाएको छ । भुक्तानी प्रणालीलाई सुरक्षित गर्न नियामक निकायले बनाउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।’
यसै अवसरमा डेपुटी गभर्नर बमबहादुर मिश्रले केही आन्तरीक, वाह्य कारणले अर्थतन्त्रमा केही समस्या देखिएपनि पछिल्लो समय राष्ट्र बैंकले लिएका नीतिहरुको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताए । उनले मुद्रास्फीति दर नियन्त्रणमा रहेको, विदेशी संञ्चिति वचतमै रहेको र अन्य अर्थतन्त्रका सूचांकहरु पनि सकारात्मक हुँदै गएको बताए ।
उनले भने–‘पछिल्लो समय मुद्रास्फीति कम हुँदै आएको छ । विदेशी मुद्रा सञ्चिति १४ महीना बढिलाई धान्ने स्थिति छ । अर्थतन्त्रमा देखिएका आन्तरीक, वाह्य कारणले कर्जा प्रवाह बढ्न सक्ने स्थिति नरहेपनि निराश हुनुपर्ने अवस्था छैन । हाल मुलुकमा १४।४ महिनाको आयातका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको छ ।’
उनले समस्या, चुनौतीलाई समाधान गर्न सकिने बताए । राष्ट्र बैंकको कार्य क्षेत्रमा पर्ने ती समस्यालाई पहिचान गर्दै हल गरिने उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय साक्षरतालाई जोड दिएको बताउँदै मिश्रले राष्ट्र बैंकको पहल प्रभावकारी बन्दै गएको समेत बताए ।
राष्ट्र बैंकले वार्षिक उत्सवको अवसर पारेर अर्थविद् तथा पूर्वगभर्नर तथा बिजेनस पार्टी डटकमका प्रमुख सल्लाहकार दीपेन्द्रबहादुर क्षत्रीलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षत्रीले सस्तो लोकप्रियताका लागि कतिपय वित्त नीतिहरु शासकहरुले लिने भएकाले त्यसलाई मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले कर्जा तिर्नुपर्दैन भनेर प्रचार हुने गरेको भन्दै त्यसलाई राष्ट्र बैंकले चिर्न जरुरी रहेको बताए।
उनले भने–‘संस्थागत रुपमै कर्जा नतिर्ने जुन अफवाह फैलाइन्छ, त्यसलाई चिर्नुपर्छ । खराब कर्जामा समेत कैफियत देखिने गरेको छ, त्यसमा समेत राष्ट्र बैंकले ध्यान दिनुपर्छ ।’
बदलिँदो परिस्थीतिमा ऐन कानूनसम्मत समयमै राष्ट्र बैंकले आफ्नो कार्यसम्पादन डिजिटल प्रणालीलाई अवलम्वन गर्न सक्नुपर्छ । मुलुक सम्पत्ति शुद्धिकरणको मामिलामा खैरो सूचीमा परेकाले कार्ययोजना बनाएर बाहिर निस्कन राष्ट्र बैंकलले पहल गर्नुपर्ने उनको भनाई छ ।
सुनको बढी कारोबार गर्ने देश भारत रहेकाले नेपाल हुँदै भारत तस्कारी हुने खतरा रहेकाले राष्ट्र बैंक चनाखो हुनुपर्ने उनले बताए । व्यवहारिक नीतिमार्फत लगानी बढाएर मुलुकभित्र रोजगारी सिर्जना गर्नुपर्ने क्षत्रीले बताए ।
कार्यक्रममा नयाँ गभर्नर नियुक्ति यथाशक्य छिटो गर्न राष्ट्र बैंकका कर्मचारी युनियनका प्रतिनिधिहरुले सरकारसँग माग गरेका हुन् ।