ललितपुर । लामो समयदेखि गर्भनर विहीन बनिरहेको नेपाल राष्ट्र बैंकले अब नयाँ गर्भनर कहिले पाउला त भन्ने प्रश्न सरोकारवालाहरुले गर्न थालेका छन् । महिनौदेखि रिक्त रहेको पदमा सरकारले गर्भनर नियुक्त गर्न नसक्दा अहिले सरकारले सर्वत्र आलोचना खेपिरहेको छ । सरकारको तर्फबाट पटक–पटक प्रतिवद्धता जनाइए पनि हालसम्म नयाँ गभर्नर नियुक्त हुन सकेको छैन ।
गर्भनर नियुक्तिको जिम्मेवारी पाएको नेपाली काँग्रेसले गभर्नरमा डा। गुणाकर भट्टलाई सारेपनि उनको राजीनामा अझैसम्म पनि कायममुकायम गभर्नर डा. निलम ढुंगानाले स्वीकृत गरेकी छैनन् । भट्टको राजीनामा स्वीकृत नभएपछि पछिल्लो पल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले अगाडि सारेको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको हिजो बालुवाटारमा बसेको बैठकमा कामु गभर्नर ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको थियो ।
पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् । उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्ने कांग्रेसको तयारी रहेको छ । काँग्रेस–एमालेको बैठक पश्चात् शनिबार साँझ नै यस बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गुणाकर भट्टलाई सिफारिस गरेको भए पनि उनको राजीनामा स्वीकृत नहुँदा र उनलाई राजीनामा स्वीकृत नगरी पठाउँदा प्राविधिक समस्या आउन सक्ने देखिएको बताएका थिए ।
अब गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखिने बताइएको छ । पछिल्लो पटक समितिका सदस्य बनेका महाप्रसाद अधिकारीविरुद्ध भने योग्यताको प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको छ ।
आर्थिक नीतिको मेरुदण्ड मानिने नेपाल राष्ट्र बैंकमा गर्भनर पद महिनौदेखि रिक्त भइरहँदा अर्थतन्त्रको दीर्घकालीन स्थायित्व र बजारको मनोविज्ञानमा नकारात्मक प्रभाव परेको छ ।