ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुशासन आयोगका कार्यवाहक प्रमुख रहिसकेका अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी संसदीय दलको नेता नयाँ बनाउन सुझाव दिएका छन् । शनिबार रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले उक्त सुझाव दिएका हुन् ।
न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने केही समय बाहिर आउने सम्भावना नरहेकाले नयाँ संसदीय दलको नेता चयन गर्नु पर्ने सुझाव दिएका हुन् ।
हिजो मात्र सर्वोच्च अदालतले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न गरिएको माग अस्वीकार गरेको थियो ।
उच्च अदालत दाङको बुटवल इजलासले गत चैत्र २२ गते लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । आदेशलगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौ बाट पक्राउ गरेको थियो । आदेशको पत्र नआउँदै पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।
