२०८२ माघ ५ | Jan 19, 2026

रिलायन्सको आईपीओ नरोक्न उच्च अदालतको आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २६
|
867 views

ललितपुर । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । गत वर्षको असारदेखि रोकिएको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन पाटनले अन्तरिम आदेश जारी गरेको हो ।

गत वर्षको असार २६ गतेदेखि नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले उक्त कम्पनीको आईपीओ रोकेका थिए । रानाको निर्णयअनुसार बोर्डले बिक्री प्रबन्धकलाई पत्र लेख्दै अर्को निर्णय नभएसम्मका लागि रिलायन्सको शेयर निष्काशन रोक्न निर्देशन दिएको थियो ।

धितोपत्र बोर्डको निर्णय र बिक्री प्रबन्धकलाई लेखेको पत्र विपरित रिलायन्सले उच्च अदालत पाटनमा रिट दायर गर्यो । कम्पनीले गत बैशाख ११ गते दायर गरेको रिटमा उच्च अदालत पाटनको मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले ‘पत्र कार्यान्वयन नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश दिएको हो ।

रिलायन्सले बुक बिल्डिङबाट जारी भएको आईपीओ दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि गत वर्ष असार २७ गतेदेखि आवेदन खुल्ने तयारी थियो। सोही बीचमा बोर्डले शेयर निष्काशकलाई पत्र लेखेर आईपीओ रोकेको थियो । कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ थियो । ९ सय १२ को १० प्रतिशत कम मूल्य अर्थात प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने अनुमति गत असारमै पाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया