रौतहट । स्थानीयले माया गरी खानेकुरा दिएर राखेको एमगज नामको हात्तीले अहिले रौतहट जिल्लाको विभिन्न स्थानमा आतंक मच्चाउन थालेको छ । कुनै समय खुट्टामा गोली लागेर घाइते भएको उक्त जङ्गली हात्तीलाई रौतहट जुडिबेला र गैडाटारका किसानले माया गरेर खान दिन्थे । तर हात्ती अलि सन्चो हुनासाथ आजभोली त्यहाँका बासिन्दालाई निकै दुःख दिन थालेको छ ।
गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल बस्तीका घरहरु भत्काउन थालेको छ भने बालीनाली समेत नष्ट गरिरहेको छ ।
जुडिबेलाका स्थानिय भन्छन्, “यो हात्ती बिरामी भएको बेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल ग¥यौँ, उपचार पनि भयो । खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो । त्यो देखेर हामी निकै खुसी भएका थियौँ तर हाल त्यही हात्ती समस्या भयो । घर भत्काउने, खेतीमा नोक्सानी गर्ने गरिरहेको छ । अब त मान्छेलाइ नै कतिबेला मार्ने हो भन्ने डर बढेको छ ।”
एमगजले गत मङ्गलबार चन्द्रपुर–२ जोगिटोलका एकल महिला फुलमाया कुँवरको उठिबास लगाएको छ । हात्तीले पूरै घर ध्वस्त बनाएको, पकाउने ग्यासदेखि खाने चामलसमेत नष्ट गरेको गरिदियो । कुँवर परिवारलाई आर्थिक सहयोग गर्ने नगरप्रमुखले बचन दिए पनि हात्ती आतंकले त्यहाँका बासिन्दाहरु चिन्तित छन् ।
यसैगरी सोही टोलकी मैया गिरी आलेले हात्तीले आफ्नो पनि घर भत्काएको र चामल, दाललगायत खाद्यान्न लगेको बताए। सोही दिन स्थानीय मुक्तिनारायण चौधरीको घर पनि भत्काइदिएको थियो । हात्तीको आतङ्कले स्थानीय असुरक्षित महशुस गरिरहेका छन् । पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको स्थानीयहरु बताउँछन् । हात्ती आतङ्का कारण स्थानीयहरु केही समयदेखि स्थानीय जङ्गलमा घाँस दाउरा जानसमेत सकेका छैनन् ।
गत कात्तिकयता हात्तीले जुडिबेलामा मात्रै दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥यााएको वडाअध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज तथा वन मन्त्रालयका सचिवलाई समेत हात्ती व्यवस्थापनका लागि ध्यानाकर्षण गराइए पनि समस्या समाधान नभएको उनले बताए । “यहाँ हात्तीले विध्वंश मच्चाएको सरोकार भएकाहरू सबैलाई थाहा छ । पटकपटक ध्यानाकर्षण गराएका छौँ तर पनि कसैले वास्ता गरेका छैनन्”, वडाअध्यक्ष थिङले भने ।
हात्तीले जुडिबेलाका खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, रवीन्द्र लामा, प्रदीप बम्जन, शुक्र पुलामी, केशव पाठक, माइला कँडेल, खिक, रवि पुलामी, कमलबहादुर विक, बद्री कार्की, उमेश थापालगायतको घर भत्काइसकेको छ । यसैगरी, चन्द्रपुर–३ गैडाटारमा पनि एक दर्जनभन्दा बढी घर भत्काइएका छन् । वडाअध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट यहाँका सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बलीमाया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको गरी दर्जनौ घर भत्काइसकेको छ ।
यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको समेत ज्यान गएको थियो ।