२०८२ कार्तिक २३ | Nov 09, 2025

ललितपुर महानगरपालिकाद्वारा चक्रपथमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २६
|
1.1k views

ललितपुर। ललितपुर महानगरपालिकाले चक्रपथमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु गर्ने भएको छ । महानगरले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको हो ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले आइतबार उक्त पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण भएकोले उक्त स्थलको जोखिम घटाउन धोवीघाटमा आकाशेपुल निर्माण गर्न लागेको बताए ।

उद्घाटन समारोहका बीच बोल्दै नगरप्रमुख महर्जनले भने, “सडक सुरक्षित नभएका कारण एक दर्जन भन्दा बढीको यो ठाउँमा ज्यान गईसक्यो, दुर्घटना हुन नदिन पुल बनाउन लागेका हौ ।, हालसम्म नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको छ, चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल समेत निर्माण अन्तिम अवस्थामा पुगेको छ ।”

उनले कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाएको र ललितपुरको धापाखेलस्थित महादेव खोलामा पनि पुल निर्माण भइरहेको समेत जानकारी गराए ।

महर्जनले चक्रपथमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएको बताउँदै त्यो स्वीकृति लिनका लागि धेरै समय लागेको बताउँदै पुल निर्माणका लागि धेरै पहिला नै माग आए पनि स्वीकृति पाउन धेरै समय लागेकाले पुल निर्माणको काममा ढिला सुरु भएको बताए ।

उनले पुल निर्माणको जिम्मा लिएको कम्पनीलाई समयमै काम सक्ने समेत अनुरोध गरे ।

यस्तै, वडा नं.३ वडा अध्यक्ष तथा सुशासन तथा संस्थागत विकास समितिका संयोजक गोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । स्थानीयको माग बमोजिम महानगरले यहाँ पुल निर्माणको लागि धेरै अघिदेखि प्रक्रिया अघि बढाए पनि सडक विभागको स्वीकृति समयमै नपाउँदा ढिला भएको जानकारी गराए ।

त्यसैगरी उद्घाटन समारोहमा बोल्दै वडा नं ४ का वडा अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा महानगरले निर्माण गर्न लागेको साइकलमैत्री पुलको निर्माण पश्चात् उक्त स्थान भएर हिंडडूल गर्ने पैदलयात्रीलाई सहज हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया