काठमाडौं । गए राति आएको हावाहुरी र चट्याङ सहितको वर्षाले लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा जनजीवन प्रभावित पारेको छ । हावाहुरीका कारण बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म सुचारु हुन सकेको छैन ।
जिल्लाका कतिपय स्थानमा वर्षासँगैको हावाहुरीले टेलिफोन सेवा समेत अवरुद्व भएको छ । गए रातिको हावाहुरी र वर्षाका बाँकेको डुडुवास्थित इलाका प्रहरी कार्यालय वनकट्टीको जस्तापाता उडाइदिको छ, जसका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
यस्तै गए रातिदेखि आएको चट्याङसहितको हावाहुरीका कारण कर्णाली प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाएते भएका छन् । बझाङ, डोटी र रोल्पा जिल्लामा १–१ जनाको मृत्यु भएको खबर छ ।
लुम्बिनी प्रदेशका कतिपय स्थानहरुमा गए रातिको हावाहुरीले घरका छाना उडाउनुका साथै सडकनै छेक्ने गरी रुख ढलाएको छ । यसैबीच वर्षासँगै पहिरो खस्दा रुकुम, कालिकोट र सल्यानका कतिपय सडक समेत अवरुद्ध भएको छ ।
त्यसैगरी राप्ती राजमार्गमा पर्ने रुकुम पश्चिमको मुसिकोटमा पहिरोले सडक पूर्ण रुपमा बन्द भएको छ । यस्तै सुर्खेत–हुम्ला सडक खण्डमा पर्ने कालिकोटको पचालझर्ना र जाजरकोट सडक खण्डमा पर्ने सल्यानको बनगाड कुपिन्डेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।