काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानमा झ्याप झ्याप बत्ति जान थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आकस्मिक पत्रकार सम्मेलन गरेका छन् ।
विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् ।
शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडेसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न सबैलाइै अनुरोध गरेका छन् । तर प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरी हटाउन सकिएन भने आपूर्तिमा ठूलै समस्या आउने समेत बताएका छन् ।
उनले प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित भइरहने बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत् उनले प्रसारण लाइन सञ्जाल तीव्र गतिमा विस्तार नगर्ने हो भने ठूलो समस्या, संकट, दुर्घटना समेत निम्तिन सक्ने बताए ।
विहीबार साँझको समयमा आएको समस्याको विषयमा निर्देशक शाक्यले भने, ‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ । अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौं । यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’
उनले शुक्रबार पिकआवरमा भारतबाट नेपालमा विद्युत आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा केही समय विद्युत आपूर्ति अवरुद्ध भएको स्वीकार गरे । शाक्यले विद्युत प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको बताए ।
प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आएको भन्दै निर्देशक शाक्यले माग र सिस्टम बढ्दै जानु र पूर्वाधार नबढ्नुले यस्तो खालको समस्या भएको बताए । ‘अहिले हामी विक लिंकमा पुगेका छौं । जहाँ–जहाँ विक लिंक भेटिन्छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ,’ उनले भने, ‘प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेको छ, जसले लाइन ट्रिप हुने गर्छ । यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ ।’
माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन पनि प्रसारण लाइन पूर्वाधार बढाउँदै जानुपर्छ । सिस्टमले नधानेका कारण हिजो विद्युत आपूर्ति प्रभावित भएको हो त्यसैले पनि प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउनु पर्छ,” कार्यकारी निर्देशक शाक्यले भने ।