काठमाडौँ । २० दिनदेखि सडक आन्दोलनमा रहेका देशभरका शिक्षकको माग सम्बोधन गर्ने तयारीमा आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोग पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको राजीनामाले एमाले भित्र तरङ्ग उत्पन्न भएको छ । एमालेका नेताहरू राजीनामाको पक्ष विपक्षमा गरी दुई खेमामा विभाजित भएका छन् ।
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो ? भन्दै प्रश्न गरेकी छन् ।
शाक्यले विद्याको राजीनामाले नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको उल्लेख गरेकी छन् । त्यस्तै एमाले नेता रचना खड्काले योग्य र इमानदार दुवै हुन कयौँ गुणा कठिन भएको तर बिद्या योग्य र इमानदार दुवै भएको उल्लेख गरेकी छन् ।
यसै गरी एमाले नेता उषाकिरण तिमिल्सेनाले भट्टराईले राजीनामा दिनु घटना भए पनि ’विद्याहरूलाई टिक्न नदिने’ अभ्यास भएको टिप्पणी गरेकी छन् । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलको असहयोगका कारण नैतिक दबाबमा परेर राजीनामा दिएकी भट्टराईको राजीनामाको विपक्षमा भने ओली निकटका सूर्य थापा र महेश बस्नेत लगायत उभिएका छन् । एमाले नेता एवम् प्रतिनिधि सभा सदस्य थापाले शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि भइरहेको छलफल तालुकदार मन्त्रीबिना अघि बढ्न नसक्ने भन्दै राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन् ।
‘शिक्षामन्त्री विद्या भट्टराईले पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो’ उनले लेखेका छन्, ‘उहाँले राजीनामा दिनु जरुरी नै थिएन । मेरो सुझाव छ उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्न र बढाउन सम्भव हुनेछ?’ यस्तै एमाले नेता बस्नेतले शिक्षा मन्त्रीको राजीनामालाई उनकै कमजोरी भन्दै आन्दोलन नटुङ्गिनु, शिक्षक महासङ्घसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु उनकै कमजोरीको सङ्केत भएको बस्नेतको भनाइ छ । मन्त्री भएको बेलादेखि नै भट्टराईको कार्यसम्पादनमा कमजोरी रहेको दाबी पनि उनले गरेका छन् ।
मन्त्री भट्टराईको सचिवालय भने स्वास्थ्यको कारण उनले राजीनामा दिएको बताउँदै आएको छ । शिक्षकहरूले आज मङ्गलवार २१ दिनमा काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रका सडकमा भेला भएर ’ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ?, व्यापारी सरकार होसियार, शैक्षिक माफिया होसियार, देशभरबाट आइया’छ, शिक्षा ऐन चाहिया’छ’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।