२०८२ माघ २६ | Feb 09, 2026

 विपिन र निराजको सहकार्य ‘निरासक्त’ सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ७
|
306 views

ललितपुर । गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत र गीतकार निराज सिग्देलको एकल शब्द रचनामा विभिन्न गायक गायिकाको स्वर रहेको गीति सङ्ग्रह ‘निरासक्त’को लोकार्पण गरिएको छ ।


विश्व सङ्गीत दिवसका अवसरमा सांस्कृतिक संस्थान जमलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संबिधानविद एवं गायक सङ्गीतकार डा भीमार्जुन आचार्य, आयोजक संस्था राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष कार्यक्रमका सभापति रिषभदेव घिमिरे, वरिष्ठ सङ्गीतकार राजु सिंह, साहित्यकार मुरारी सिग्देल,सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन,वरिष्ठ संगीतज्ञ धनबहादुर गोपाली गायक स्वरूपराज आचार्य लगायतले गीति सङ्ग्रहको संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा आचार्यले विपिन र निराजको सहकार्यबाट नेपाली सङ्गीत क्षेत्रमा सशक्त सिर्जना थपिएको बताए । उनले अचेल प्रस्तोताहरूले गीत र गायन पक्षलाई गहन रूपमा लिन नसकेकोमा भने असन्तुष्टि जनाए । उनले प्रस्तोताको लापरबाहीले सिर्जनाको मर्म मर्ने भन्दै त्यस तर्फ ध्यान दिन सुझाव दिए ।  कार्यक्रममा बोल्दै गायक स्वरूपराज आचार्यले गीत गाउँदा लेखकका शब्दले आफूलाई भित्र कतै छेडेको र गाउँदा ठाउँ ठाउँमा भक्कानिएको स्मरण गरे । आफूले गाएको गीतका शब्द बुवा भक्तराज आचार्यको जीवन सँग मेला खाएको अनुभूत गरेका कारण आफू भक्कानिएको बताएका थिए ।

 

गीतका शब्दको समीक्षा साहित्यकार तथा शब्द पथका सम्पादक मुरारी सिग्देलले गरेका थिए भने सङ्गीत पक्षको समीक्षा सङ्गीतकार राजु सिंहले गरेका थिए ।  कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरूले यो सहकार्य उत्कृष्ट भएको भन्दै निरन्तर सहकार्यको शुभकामना दिएका थिए । कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष अष्ट लामा , नियात्राकार प्रदीप सापकोटा, अभिनेत्री शारदादेवी सिलवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति रिषभदेव घिमिरेले कविताको शैलीमा स्रष्टा सर्जक र सिर्जना सगरमाथा भन्दा उच्च हुने भनाई राखे ।  कार्यक्रममा स्वरूपराज आचार्य र रामकृष्ण ढकालको स्वर रहेका दुई गीतको श्रब्यदृश्य सामग्री देखाइएको थियो ।
प्रसिद्ध गीतकार लोकराज अधिकारीले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि, अतिथि, र समीक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सार्वजनिक भएको गीति सङ्ग्रहमा ६ वटा गीत समावेश छन् । जसमा आचार्य, ढकाल सँगै शीला विष्ट अलि र विपिनको स्वर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया