२०८२ असार २६

ललितपुर । यतिबेला विश्वभरका सरकारहरूले तीव्र गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयासमा लागि परेका छन् । उनीहरूले आफ्ना नागरिकलाई जति सक्दो चाँडो इजरायल र इरान छोड्न सुसुचित गरेका छन् भने सरकारी तवरबाट बस र विमानहरू समेत व्यवस्थित गरिरहेका छन् । कतिपय अवस्थामा आफ्ना नागरिकलाई मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् ।
गत शुक्रबार इजरायलले इरानको आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बम आक्रमण अभियान चलाएपछि तेहरानबाट बदलाको कारबाही सुरु भएकाले यतिबेला विदेशीहरूले आफ्ना नागरिकलाई दुवै देश छाड्न हतारो लगाइरहेका छन् । तर इजरायलको हवाई क्षेत्र बन्द भएपछि र दुई देशले भारी क्षेप्यास्त्र प्रहार गर्दा धेरै मानिसलाई तेस्रो देशहरूबाट निकाल्ने प्रयास जारी राखिएको छ ।
दुई देशबीच द्वन्द्व चर्किएसँगै कतिपय युरोपेली देशहरूले इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् । जस्तो कि चेक गणतन्त्र र स्लोभाकियाले मङ्गलबार सरकारी विमानमा एक सय ८१ जनालाई स्वदेश फिर्ता गरेको बताएका छन् ।
“हवाई क्षेत्र बन्द भएकाले सेनाको विमान सिधै इजरायल पठाउन सम्भव भएन”, चेक रक्षा मन्त्रालयले एक वक्तव्यमा भन्यो, “उद्धार गरिएकाहरूलाई बसमार्फत छिमेकी देशको एउटा विमानस्थलमा लगियो । उनीहरूले पैदल सीमा पार गरे ।”
जर्मन सरकारले जोर्डन हुँदै बुधबार र बिहीबार उडानहरू तय गरिएको बताएको छ भने पोल्यान्डले आफ्ना नागरिकहरू मध्ये पहिलो समूह बुधबार फर्कने बताएको छ ।
ग्रिसले आफ्ना एक सय पाँच नागरिक र धेरै विदेशी नागरिकलाई इजिप्ट हुँदै स्वदेश फिर्ता गरेको बताएको छ । एक सय ४८ जना यात्रु बोकेको निजी विमान मङ्गलबार बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरेको छ ।
त्यसैगरी संयुक्त राज्य अमेरिकाका राजदूतले पनि इजरायलका लागि बुधबार हवाई र समुद्री मार्गबाट अमेरिकीहरूलाई निकाल्ने योजना घोषणा गरेका छन् ।
“दूतावासले इजरायल छोड्न चाहने अमेरिकी नागरिकहरूका लागि निकासी उडान र क्रूज जहाज प्रस्थानमा काम गरिरहेको छ”, राजदूत माइक हकाबीले एक्समा पोस्ट गरेका छन् ।
यता अस्ट्रेलियाले इरानबाट करिब एक हजार पाँच सय र इजरायलबाट एक हजार दुई सयभन्दा बढी नागरिक निकाल्न थालेको छ । तर अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मिसाइल आक्रमणले नागरिक विमानहरू कुनै पनि देशमा अवतरण गर्न धेरै जोखिमपूर्ण बनाएको बताए ।
“त्यहाँ नागरिक विमानहरू भित्र ल्याउने क्षमता छैन, यो धेरै जोखिमपूर्ण छ र हवाई क्षेत्र बन्द छ”, उनले राष्ट्रिय प्रसारणकर्ता एबिसीलाई भने, “हामीले भूमि सीमा पार गरेर अस्ट्रेलियालीहरूको सानो समूहलाई इजरायलबाट बाहिर निकाल्ने अवसर लिएका छौँ । हामी आगामी २४ घण्टामा अझ बढी गर्ने प्रयास गरिरहेका छौँ ।”
यस्तै, पाकिस्तानले आफ्नो घर फर्कन चाहने पाकिस्तानीहरू बाहेक छिमेकी इरानसँगको सीमा नाकाहरू बन्द गरेको छ । अहिलेसम्म कम्तीमा दुई सय विद्यार्थीसहित करिब एक हजार पाकिस्तानी भागेका छन् भने इरानबाट कूटनीतिज्ञका परिवार र केही गैर–आवश्यक कर्मचारीहरूलाई बाहिर निकालिएको विदेश मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आर्मेनियाबाट विशेष उडानमा इरानबाट करिब एक सय १० भारतीय विद्यार्थी निकालिएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
न्युजिल्यान्ड सरकारले बिहीबार इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको र दुई जना कर्मचारी र उनीहरूको परिवारलाई भूमिबाट अजरबैजानमा लगेको बताएको छ ।
“इरान र इजरायलमा अन्य न्युजिल्यान्डवासीहरूको प्रस्थानमा सहयोग गर्ने अवसरहरू आयो भने हामी उनीहरूलाई तुरुन्तै पछ्याउने छौँ”, विदेशमन्त्री विन्स्टन पिटर्सले एक विज्ञप्तिमा भने ।
यस्तै, जापानले इजरायलमा बस्ने करिब एक हजार र इरानमा करिब दुई सय ८० जापानी नागरिकका लागि सैन्य विमानहरूलाई तयारी अवस्थामा राख्न आदेश दिएको सरकारी मन्त्रीहरूले जनाएका छन् ।
इरान र इजरायलमा रहेका जापानी दूतावासहरूले छिमेकी देशहरूमा नागरिकहरू निकाल्न बसहरू प्रयोग गर्ने तयारी गरिरहेको एक सरकारी प्रवक्ताले बताए।
युद्ध सुरु भएको एक हप्ता भइसक्दा पनि युद्धविराम हुने कुनै संकेत नदेखिएकाले सबै राष्ट्रले आफ्ना नारिकलाई फिर्ता बोलाउने क्रम जारी राखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया