काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलीबाट ४ दिने औपचारिक भ्रमणका लागि थाइल्याण्ड जाँदैछन् । थाइल्याण्डमा हुने विमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओलीको चैत १९ गते थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ ।
नेपाल–थाइल्याण्ड कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलोपटक नेपालको प्रधानमन्त्रीको औपचारिक भ्रमण हुँदै छ । यो भ्रमण आफैमा महत्वपूर्ण भएको प्रधानमन्त्री ओलीले बताए ।
सोमबारको प्रतिनिधिसभाको बैंठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणको कार्यतालिका प्रस्तुत गरेका छन् ।
कार्यतालिका अनुसार चैत १९ गते मंगलबार अर्थात् अप्रिल १ मा प्रधानमन्त्रीको भ्रमण टोली बैंककतर्फ प्रस्थान गर्नेछ । ओलीको २० गते बुधबारबाट औपचारिक भ्रमण सुरु हुनेछ । भ्रमणका क्रममा थाइल्याण्ड र नेपालका प्रधानमन्त्री बीच दुई पक्षीय वार्ता हुनेछ । वार्ताका बीच पर्यटन र संस्कृतिको सन्दर्भमा दुईवटा समmभदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
यस्तै औपचारिक कार्यक्रमका बीच दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा गैर सरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने छ । दुईपक्षीय वार्ता पछि नेपाल र थाइल्याण्डका प्रधानमन्त्रीबीच संयुक्त प्रेस ब्रिफिङमा प्रधानमन्त्री ओलीको उपस्थिति रहनेछ र अन्तमा थाइल्याण्डका नरेशसँगको भेटपछि चैत २० गतेको प्रधानमन्त्रीको औपचारिक भ्रमण समाप्त हुनेछ ।
यसैगरी चैत २१ गते विहीबार अर्थात् ३ अप्रिलमा प्रधानमन्त्री ओलीको थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरुसँग भेटघाट र छलफल हुने कार्यक्रम रहेको छ । सोही दिन दिउँसो एशियन इन्स्टिच्युन अफ टेक्नोलोजीमा हुने कार्यक्रमलाई सम्बोधन गरेपछि साँझमा विमस्टेक शिखर सम्मेलनका नेताहरुलाई दिइने औपचारिक रात्रिभोजमा सहभागी जनाउने कार्यक्रम छ ।
निर्धारित समयअनुसार चैत्र २१ गते अन्य सदस्य राष्ट्रका नेताहरु भेटघाट र साइडलाइन वार्ता हुनेछ भने चैत्र २२ गते प्रधानमन्त्री ओलीले विमस्टेक शिखर सम्मेलनमा भाग लिनेछन् । २२ गते विहान मेरिटाइम ट्रान्सपोर्ट कोअपरेशन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् भने दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सोही दिन साँझ दुतावासमा हुने कार्यक्रममा सहभागी जनाए पश्चात प्रधानमन्त्रीको औपचारिक कार्यक्रम समाप्त भएसँगै २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।