ललितपुर । हरेक वर्ष मे १०मा मनाइने विश्व लुपस दिवसका अवसरमा लुपस नेपालको आयोजनामा आज सङ्घीय राजधानी काठमाडौँमा सचेतना र्याली निकालिएको छ । काठमाडौँको माइतीघर मण्डलाबाट सुरु भएको र्याली थापाथली हुँदै ललितपुरको , कुपण्डोल, पुलचोक, जावलाखेल हुँदै झम्सीखेलमा पुगेर समापन गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्ने वक्ताहरूले लुपसका बारेमा अझ धेरै जन चेतनाको खाँचो औँल्याएका थिए । वक्ताहरूले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा लुपसलाई सम्बोधन गरेकोमा धन्यवाद दिँदै कार्यान्वयनमा जोड दिएका थिए । उनीहरूले लुपस रोग बाट पीडित भएकाहरूको उपचार खर्च निःशुल्क गर्न सरकार सँग माग गरेका छन् ।
कार्यक्रममा लुपस नेपालका सल्लाहकार वरिष्ठ बाथ रोग विशेषज्ञ प्राध्यापक डाक्टर बुद्धि पौड्याल, उप प्राध्यापक तथा बाथ रोग विशेषज्ञ डाक्टर केशवराज सिग्देल, डाक्टर सुवर्ण प्रधान, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि ग्याम्पो दोर्जी, लोपसका अर्का सल्लाहकार विजया केसी ,वैज्ञानिक डाक्टर समीर मणि दीक्षित, र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डित र संस्थाकी अध्यक्ष बविता बुढाथोकीले आफ्ना भनाई राख्दै लुपस बाट पीडितहरूका लागि राज्यले लगानी सहित अझै चेतनामूलक कार्य सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । लुपस एक खतरनाक रोग हो । यसको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी हुन्छ । जति चाँडो उपचार सुरु गरियो त्यति नै छिटो अङ्ग बचाउन सकिने जावलाखेल स्थित आरोग्य स्वास्थ्य सदन मार्फत पनि नियमित बाथ रोगबाट पीडित भएकाहरूको सफल उपचार गर्दै आएका उप प्राध्यापक तथा बाथरोग विशेषज्ञ डाक्टर केशवराज सिग्देलले बताएका छन् ।
बिजनेस पाटी सँगको कुराकानीमा डाक्टर सिग्देलले लुपस रोग देखिएको बिरामी मध्य हरेक १० व्यक्तिमा ९ जना महिला र १ जना पुरुष पाइने गरेको पनि उनले बताए । लुपस रोग महिलालाई पुरुषको तुलनामा ९ गुणा बढी लाग्ने गर्छ । लुपस एक प्रकारको अटोईम्युन डिजिज भएको र यो विशेष गरी युवा अवस्थामा तथा महिलाहरूमा सुरु भई लामो समय सम्म रहने दीर्घकालीन रोग भएको अर्का प्राध्यापक डाक्टर वरिष्ठ बाथरोग विशेषज्ञ बुद्धि पौड्यालले जानकारी दिएका छन् ।
नेपालमा लुपस रोगीहरू कति छन् भन्ने यकिन जानकारी छैन । विश्वमा प्रत्येक एक लाख व्यक्तिमा २० जना व्यक्तिलाई यो रोग लाग्ने गर्छ । यस रोगकै कारण विश्वमा करिब ५० लाख व्यक्ति प्रभावित छन् । यो रोग पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । विशेष गरी १५ देखि ४५ वर्ष उमेर समूहका महिलाहरूमा देखिने यो रोग लागेमा प्रजनन उमेर समूहका महिलामा निःसन्तानपनको समस्या देखिने गर्छ । विशेष गरी, रोग प्रतिरोधात्मक क्षमतामा आउने अनियमितताका कारण हुने लुपस रोगबारे जनचेतना दिने उद्देश्यले नै प्रत्येक वर्षको मार्च १० तारिखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।
हलिउडकी चर्चित पप स्टार तथा अभिनेत्री सेलेना गोमेज लुपस रोगबाट ग्रसित भएको समाचार बाहिर आएपछि सन् २०१५ बाट यस रोगले चर्चा पाएको थियो । नेपालमा सन २००५ देखिनै अनौपचारिक रूपमा लुपसका बारेमा सचेतनामूलक गतिविधि गर्दै आएको लुपस नेपालले २०२० देखि भने बिधिवत स्थापना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्य साझेदार सङ्घ संस्थाहरूको सहकार्यमा देशका विभिन्न स्थानहरूमा आफ्ना गतिविधिलाई निरन्तरता दिई रहेको संस्थाकी कोषाध्यक्ष आस्था प्रधानाङ्गले बिजनेस पाटीलाई जानकारी दिएकी छन् ।