वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त महसुल लगाउने धम्की दिएपछि केही दिनयता विश्व बजार त्रसित बनेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले बहुप्रतिक्षित पारस्परिक अतिरिक्त महसुल अन्य देशले लगाएको भन्दा कम हुने बताएका छन् । आफ्नो यस घोषणाले विश्व बजार निकै त्रसित बनेको भन्दै उनले केही हदसम्म लचकता देखाएका छन् ।
बुधबार आफूले घोषणा गर्न लागेको नीति आफ्ना व्यापार साझेदारहरूको भन्दा केही नरम हुने ट्रम्पले सोमबार ह्वाइट हाउसमा भनेका थिए ।
‘उनीहरूले जे गरिरहेका छन्, त्यसको तुलनामा हामी केही दयालु हुनेछौं । घोषणा गरिने अतिरिक्त महसुल दर उनीहरूले हामीलाई लगाइरहेको भन्दा कम हुनेछ अनि केही केसमा त यो निकै कम हुनेछ ।’ ओभल अफिसमा पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले भने । ‘तुलनात्मक रुपमा भन्नुपर्दा हामी निकै दयालु हुनेछौं,’ उनले भने ।
अहिलेसम्म व्यापार साझेदारहरूले अमेरिकाको फाइदा उठाएको भन्दै आफ्नो यी कदमले अमेरिकामा धेरै धन फिर्ता हुनेमा ट्रम्पले जोड दिए । यसलाई उनले अमेरिकाको पुर्नजन्मसमेत भनेका छन् । ट्रम्पले आइतबार मात्रै सबै देशबाट आउने सामानमा अतिरिक्त महसुल लाग्ने स्पष्ट पारेका थिए । यसको एक दिनपछि ट्रम्पले आफूले दयालु बन्ने अभिव्यक्ति दिएका हुन् । एजेन्सी