ललितपुर। वैशाख महिना भरमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामै यति धेरै रेमिट्यान्स भित्रिएको यो पहिलो रेकर्ड हुन पुगेको छ । २०८२ सालको वैशाख महिनामा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
२०८१ सालको सोही अवधिमा जम्मा १खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसअघि एकै महिनामा यतिको रेमिट्यान्स भित्रिएको थिएन । यसले चालु आर्थिक वर्ष २०८१र८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
आज (मंगलबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आवको यसै अवधिको तुलनामा १३.३ प्रतिशत धेरै हो । अघिल्लो आवमा यो वृद्धि १६.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।