ललितपुर । रास्वपा सभापति एबम् पूर्व गृहमन्त्री रवि लामिछानेपत्नी निकिता पौडेलले आफूले सर्वोच्च अदालतबाट पनि न्याय नपाएको भन्दै आफूले न्याय र मानवीयता मृत भेटेको र आस्था र विश्वासको जग बेस्सरी हल्लिएको टिप्पणी गरेकी छन् ।
सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमान् लामिछानेविरुद्ध प्रमाण नहुँदानहुँदै पनि मुद्दा चलाइएको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरिएको गैरकानुनी पक्राउसम्बन्धी रिटमा कुनै निर्णय नआएको समेत गुनासो गरेकी छन् ।
निकिताले शुक्रबारको दिन आफ्ना लागि जिन्दगीकै कठिन र पीडादायी बनेको उल्लेख गरेकी छन् । पौडेलले अब आफूले कसरी मनको डर मेटाउने, कसलाई गुहार्ने ? भन्ने प्रश्न गरिरहेकी छन् ।
रविको आदेश आउने दिन शुक्रबार निकिता दिनभरि सर्वोच्च अदालतमा थिइन् । अन्तिममा कसैले आफूलाई फोन गरेर समाचार सुनाएको उनले बताएकी छन् । त्यसको भोलिपल्ट उनले भैरहवा पुगेर रविलाई भेटेकी थिइन् । भैरहवा जाँदै गर्दा आफूलाई जिउँदो लाशजस्तो प्रतित भएको उनले बताएकी छन् ।