
काठमाडौँ । काठमाडौँको मुटु न्यूरोडको बीचमा रहेको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले आफ्ना सटर बन्द गरेर विरोध जनाएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले त्यस ठाउँ वरिपरि पार्किङ गर्न अर्थात् छोटो समय पनि सवारीसाधन रोक्न नदिएपनि दुई पक्षबीच विवाद चर्किएको थियो ।
विहीबार न्यूरोड क्षेत्रका व्यवसायीहरुले आफ्ना ग्राहकहरूले छोटो समय मात्र मोटरसाइकल रोक्दा पनि नगर प्रहरीले ह्विल लक गरेको भन्दै विरोधस्वरुप सटर बन्द गरेका हुन् ।
नगरप्रहरीले यो क्षेत्रमा पार्किङ मात्र होइन केहीबेर उभिन समेत नदिएर आफ्ना ग्राहकहरुमाथि ज्यादती गरेको र व्यवसायमा असर परेको भन्दै विरोध गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । पार्किङको विषयमा पटक पटक कुरा राख्दा पनि यस विषयमा सुनुवाई नभएको भन्दै सटर बन्द गरेर शान्तिपूर्ण विरोध जनाएको व्यवसायीहरुले बताएका छन् ।
अहिले न्यूरोडको पाको क्षेत्र र आसपासका क्षेत्रका सटरहरु बन्द गरिएका छन् ।
नगरप्रहरीका अनुसार पार्किङ निशेध गरिएको क्षेत्रमा मोटरसाइकल पार्किङ गर्नेको संख्या बढ्दै गएपछि व्यवसायीसँग विवाद उत्पन्न भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया