युरोपेली सङ्घ (ईयू) का अध्यक्ष उर्सुला भन डर लायनले शुक्रबार आफना धारणा व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिका लागि तयार हुनुहुन्जेलसम्म आवश्यक कूटनीतिक र आर्थिक दबाव जारी राखिने बताउनुभएको छ । उहाँले मस्को विरुद्ध १८औं प्रतिबन्ध प्याकेजको तयारी सुरु भइसकेको जानकारी दिनुभयो । “हामी सबै शान्ति चाहन्छौं र शान्तिको मार्गतर्फ अघि बढ्न हामीले आवश्यक पहल गर्नुपर्छ । जबसम्म राष्ट्रपति पुटिन शान्तिका लागि तयार हुनुहुन्न, तबसम्म दबाव कायम राख्न जरुरी छ,” अध्यक्ष भन डर लायनले तिरानामा आयोजित युरोपेली नेताहरूको भेला कार्यक्रममा पत्रकारहरूसँग भन्नुभयो । युरोपेली सङ्घले यस साता १७ औं प्रतिबन्ध प्याकेज पारित गरिसकेको छ, जसअन्तर्गत रूसद्वारा प्रयोग गरिँदै आएका करिब २०० तेल ट्याङ्करहरूलाई प्रतिबन्धको सूचीमा राखिएको छ । अध्यक्ष भन डर लायनका अनुसार नयाँ प्रतिबन्धले विशेष गरी बाल्टिक समुद्रस्थित नर्ड स्ट्रिम १ र २ ग्यास पाइपलाइनहरूलाई लक्षित गर्नेछ, जसको उद्देश्य ती परियोजनाहरू पुनः सञ्चालनमा ल्याउने सम्भावनालाई रोक्नु हो । प्रवक्ता पाउला पिन्होले भन्नुभयो,“नर्ड स्ट्रिम १ मर्मत गर्न सकिने सम्भावना छ र नर्ड स्ट्रिम २ सैद्धान्तिक रूपमा अनुमति पाउन सक्छ । त्यसैले भविष्यमा लगानीकर्ताहरूले कुनै चासो नदेखाओस् भन्ने उद्देश्यले अग्रीम रूपमा कदम चालिएको हो ।”
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाव बढाइने : युरोपेली सङ्घ प्रमुख

Previous Articleनक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ
Next Article मेलम्चीको पानी बितरण विस्तार