सरीता पौडेल गुरागाई
धेरैजसो व्यक्तिले अहिलेको शिक्षक आन्दोलनलाई नकारात्मक टीका टिप्पणी गरिरहनु भएको छ। झन झाक्री जस्ता धेरै झाक्रा झाक्रीले त रमिता देखाएको नै भन्न भ्याइसक्नु भयो। हुन त रमितै देखाएर सत्ता र सदनमा पुगेकाहरुले यसलाई रमितै देख्छन् । उहाँहरुको चक्षुले देखेको भन्न र सामाजिक संजालमा लेख्न कुनै रोक टोक लगाउन शैक्षिक बर्ग उत्रीदैन किनभने प्रत्येक लाई वाक स्वतन्त्रता छ।
तर समाजमा आफ्नो प्रभुत्व जमाउन र आफुलाइ बौद्धिक वर्गमा गन्न चाहाने २/५ जनाले भने आफ्नो दृष्टि फराकिलो बनाउनै पर्ने देखियो।
किन गर्दैछन् शिक्षकले आन्दोलन ???????
– के तपाईं कहिल्यै आफ्नो नजिकैको सामुदायिक विद्यालय जानू भएको छ?
– विद्यालयको नेतृत्व कसले , कसरी गरिरहेको छ बुझ्नुभएको छ?
– दरबन्दी मिलानको नाममा कुन शिक्षक कहाँ कसरी आएको छ र कसरी गएको छ तपाईंलाई थाहा छ?
– विद्यालय संचालनमा परेका समस्यामध्ये कुनै एक समस्याका लागी तपाईंले अलिकति पनि समय खर्चिनु भएको छ?
-विद्यालयमा कति बिषय पढाई हुन्छन् र ती बिषय क कस्ले पढाउनु हुन्छ सोध्नु भएको छ?
– विद्यालयमा अध्यापन गराइराख्नु भएका शिक्षक शिक्षिकाहरु कति बर्ष देखि कुन तहमा र कसरी तलब भत्ता खाएर पढाइराख्नु भएको छ तपाईंलाई थाहा छ?
– शिक्षक सेवा उत्तीर्ण गरेर शिक्षण पेशामा प्रवेश गरेका शिक्षकहरु पनि किन आफ्नो पेशामा उदासीन छन् ? ख्याल गर्नु भएको छ?
– शिक्षकले आफ्ना अप्ठ्यारो , गुनासो सुनाउने निकाय कुन हो तपाईंलाई थाहा छ?
– कुन शिक्षकले आफ्नो बिशेष परिस्थितिमा सरुवा जान चाहादा जान पाएको छ र कस्ताकस्ताको सुगम , घरपाएक भन्दै सरुवा भएको छ तपाईंलाई थाहा छ? यस्तै यस्तै…
– विद्यालयको गेट खोल्ने देखी तपाईं हाम्रा नानिबाबुका काक्षी सफा गर्ने सम्मका काम गर्दै आउनु भएका विद्यालयसहयोगीकर्मचारी हरुको ६० बर्ष पुगेको भोलिपल्टैबाट घरमा चुलो कसरी बल्ला बिचार गर्नु भएको छ?
– माथीका कुरा छोडौ विद्यालयले बोलाउने अभिभावक भेला , अन्तर्कृयात्मक कार्यक्रम , अतिरिक्त क्रियाकलाप , विभिन्न प्रदर्शनी , पठन पाठन सम्बधमा तपाईं जानकार हुनुहुन्छ ?
यस्तै यस्तै कैयौं बिषय छन् , जसमा तपाईं जानकार हुनुहुन्छ भने तपाईंलाई यो आन्दोलन रमिता , चटक, नाटक हैन जायज लागेको छ।
देशमा संविधान आएको ३ बर्षभित्र सम्पुर्ण क्षेत्रका कानुन बन्छन् , संशोधन हुन्छन् । शिक्षा क्षेत्रले खै कानुन पाएको? राज्य आफै अग्रसर भएर निप्ट्याउनु पर्ने काममा उल्टै शिक्षकहरू यतिका समयदेखि एउटा ऐन त ल्याइदेउ भनेर लाग्दा पनि तपाईंहरुलाइ चटक लाग्छ ???
रमिता लाग्छ ???
नाटक लाग्छ ???
के मागेका छन् शिक्षकले? एउटा ऐन । तपाईं हरुलाइ लागेको होला अस्थायी , राहत ,करार ……इत्यादि शिक्षखरु स्थायी बनाइदे भनेर सडकमा उफ्रेका छन् । उनिहरु पढेर शिक्षक सेवा पास गर्न नसकेर आन्दोलन गर्न आएका हुन् । यस्तै भ्रममा हुनुहुन्छ हैन तपाईंहरु? कुरोको चुरो नबुझी बोल्ने , लेख्ने नकारात्मक टिप्पणी गर्ने संस्कार हामिमा हाबी भै सकेको छ त्यसकै परिणाम स्वरुप आज शिक्षकलाई गाली गर्दै हुनुहुन्छ तपाईं ।
सोच्नुस त तपाईं हाम्रो घरमा सामान्य काममा सहयोग गरिदिन आउनेलाई त हामी साझ घर फर्किदा उसले पाउने पारिश्रमिक बाहेक दुई चार थोक अरु आवश्यक सामान दिएर पठाउछौ ,भने राज्यको नाममा अहोरात्र खटेर आफ्नो कपाल फुलाउनु भएका शिक्षक तथा कर्मचारीका लागी के गर्न सकिन्छ ? सोच्ने दायित्व हाम्रो होइन ? राज्यको होईन ?? उमेर भएका विभिन्न कारणले बन्चित हुनुभएका शिक्षक हरुलाइ एकचोटी अवसर दिएर एकै किसिमको ब्यब्स्थापन हुँदा के जाला त ? निश्चित कानुन निर्माण गरेर प्रक्रियागत ढंगले उहाँहरुले गरेको योगदानको उच्च कदर गर्दा के राज्यको साच्चै ढुकुटी रित्तिन्छ ?तपाईं हामी कैयौं छौ जो राज्यलाई लुटि लुटि मलामी जान देखी माइती ससुराली सम्म राज्यकै तेल डढाएर पुग्छौ,राज्यकै गाडी थोत्र्याउछौ, राज्यकै नामम विभिन्न भोज, पाटी खान्छौ।कैयौदिन आरामदायी होटलमा सुत्छौ, राज्यकै पैसाले देश बिदेश भ्रमण गर्छौ। यति सम्मकी आफ्नो सानो कामले कार्यालयबाट बाहिर निस्क्नु पर्यो भने टि.ए. डि.ए. फारम भरेर निस्कन्छौ। यो सबै देखिने बिषय हुन बाकी सबै त्यतैतिरको लय लागेकालाई थाहा छ। त्यतिबेला राज्य नाङ्गिएको देख् दैनौ । राज्य टाट पल्टिदैन। अहिले बबुरा शिक्षकका केही माग सम्बोधन गर्न अर्थतन्त्रले नभ्याउने? वा! लोकतन्त्र ,वा! गणतन्त्र ।
एकपटक अवसर दिएर यी १८ थरीका शिक्षकलाई एकैथरी बनाउदा देश चुर्लुम्म डुब्दैन बरु देशले शैक्षिक छलाङ मार्छ।
शिक्षक समाज हाक्ने संवाहक हो। उसलाई यतिबेला सबैको साथ चाहिएको छ। उसको ब्यक्तिगत स्वार्थको लागि होइन शैक्षिक उन्नयन्को लागी । समाजको नेतृत्व गर्ने बर्गनै उत्पिडनमा छ भने तपाईं कस्तो समाजको परिकल्पना गर्नुहुन्छ ???
हो अविभावकहरुलाई आफ्ना नानी बाबुहरुको चिन्ता लाग्नु स्वभाविक हो तर धैर्य गर्नुहोस् शिक्षकहरू बर्षौदेखी दमित छन् शैक्षिक आन्दोलन त्यसकै उपज हो।
कुनै पनि परिस्थितिको परिवर्तनको चरम उतकर्षमा केहि न केहि क्षती अवश्य हुन्छ ।त्यसकै मारमा अहिले सामुदायिक विद्यालयका बालबालिका तथा अविभावक पर्नु भएको छ। तर धेरै समय पर्नु हुन्न । शिक्षकहरूको जितको बिगुल बजेपछि यो शैक्षिक क्षतिको भरपुर पुरताल उहाँहरुले नै गर्नु हुनेछ ।अविभावकज्युहरु यहाँहरुले गर्व गर्नुहुनेछ शिक्षकहरु र विद्यालय प्रती। बस यतिबेला शिक्षकहरूलाई सहयोग गर्नुहोस् । ताकी भविष्यमा तपाईं हाम्रा बालबालिकाले पनि यो पेशाको उच्च सम्मान गर्न सकुन् । इज्जत गर्न सिकुन र सकुन। कुनै शिक्षकले आफ्नो अधिकार खोज्न सडक रोज्न नपरोस् ।
जय शिक्षा
जय शिक्षक आन्दोलन ।