काठमाडौ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदार एवम् कामदारका परिवारलाई करार अवधिभित्र वा तोकिएको अवधिभित्रसम्मका लागि कामदार एवम् कामदारहरुको परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहयोग गर्ने भएको छ ।
कामको अवधिभर कामदार विदेश वा स्वदेशमा विरामी अथवा कुनै पनि किसिमको अंगभंग भएका उनीहरुलाई उपचारवापत ७ लाख रुपैयाँ सम्म आर्थिक सहायता गरिने भएको हो । त्यस्तै कामदारको घरपरिवारको सदस्यलाई कुनै पनि गम्भीर किसिमको रोग लागेमा एकपटकका लागि औषधी उपचार खर्च ५० हजारसम्म सहयोग गर्ने छ ।
रोजगारीका शिलसिलामा विदेशमा रहँदा कुनै पनि किसिमको समस्या परेमा उद्दार तथा खोजतलासको समन्वय तथा स्वदेश फिर्ता ल्याउने एवं फौजदारी अभियोग लागि कानूनी सहायता आवश्यक परेमा कानुनी प्रतिरक्षाका लागि पनि सहयोग प्रदान गरिने छ ।
त्यसैगरी बिदेशमै रहेको अवस्थामा कामदारको मृत्यु भएमा शव नेपाल झिकाउने एवं त्रिभुवन विमानस्थलबाट इच्छाईएको सडक पुगेको स्थलसम्म निःशुल्क शव ढुवानी सेवा तथा मृतक कामदारको नजिकको हकवालालाई करार अवधिभित्र वा सो को एक वर्षभित्र मृत्यु भए रु. ७ लाख र सो अवधि पछि मृत्यु भएको भए २५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान सचिवालयले जनाएको छ ।
पूर्ण आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार छात्रवृत्ति सहायता प्रदान गर्ने र विदेशबाट फर्किएका रिटर्नी कामदारहरुलाई उद्यमशील बनाउने लगायत अन्य प्रवर्द्धनात्मक विभिन्न कार्यक्रमहरुमा सहभागी गराउने व्यवस्था रहेको सचिवालयको सुचनामा उल्लेख छ । ।
उपरोक्त सेवा लिनका लागि सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्र, आप्रवाशी स्रोत केन्द्र वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा भौतिक रुपमा वा विभिन्न माध्यमबाट सम्पर्क गर्न वैदेशिक रोजगार बोर्डले जनाएको छ ।