काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीले नै पटक–पटक रोष्टममा नै फरक मत राख्नेहरुलाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? भन्ने प्रश्न गरे । उनले यदि संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए।
बैठकमा सांसद शाहीले प्रश्न गरे ‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्न पाइन्छ ? आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखिएको भरमा नै जेल हालिएको छ। नेपालको संविधानको धारा १७ को ठाडो उल्लंघन भयो कि भएन ? प्रधानमन्त्रीले नै पटक–पटक रोष्टमबाट फरक मत राख्नेहरुलाई पक्राउ गर्छु भन्नुहुन्छ। के प्रधानमन्त्री र गृहमन्त्री अनि वर्तमान सरकरा नेपालको संविधानभन्दा पनि ठूलो हो ? यदि ठूलो हो भने तपाईंहरुसँग बहुमत छ यो धारा संशोधन गर्नुहोस्।’ उनले भने ।
त्यसैगरी उनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन्। संविधान पालना गर्न नसके सरकारमा बस्नुको कुनै महत्व र वैधानिक हुन नसक्ने धारणा राखे। अध्यक्ष केसीलाई सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो। उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष समेत हुन्।
सुजित केसीलाई पक्राउ गरेर यो सरकारले संविधानकोे ठाडो उल्लङघन गरेको आरोप सांसद शाहीले लगाए ।