ललितपुर। अवरुद्ध संसदको अवरोध खोज्ने विषयमा आज पनि सहमति जुट्न सकेन । भिजिट भिसा सेटिङ प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक पछिल्ला केही दिनदेखि बस्न सकेको छैन । शुक्रबार पनि बैठक बस्न नसकेर आइतबार बस्ने गरी स्थगित गरिएको थियो । तर आइतबार पनि संसदको अवरोध हट्ने विषयमा भने सहमति जुट्न सकेन ।
आज पनि संसद खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसदको अवरोध हटाउने विषयमा छलफलमा जारी छ ।
बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न र मर्यादित बन्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।
छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । छलफलमा प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाउनुभएकाले त्यसपछि आफूहरूको धारणा दिने बताए ।
सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याए ।