काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै सडक आन्दोलन सुरु गर्ने जानकारी गराएको थियो ।
सरकारसँग पटकपटक भएको सम्झौता कार्यान्वयन भएको भन्दै शिक्षकहरू आजबाट राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।
आज विद्यालय पोशाक र परिचयपत्रसहित माइतीघरमा दिउँसो १ बजे भेला भएर शिक्षकहरुले विरोध प्रदर्शनका कार्यक्रमहरु गरेका छन् । विहीबारदेखि भने हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आन्दोलनका कार्यक्रम तय भएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने महासंघले जनाएको छ।