
ललितपुर । गभर्नर विश्वनाथ पौडेलले अहिलेको समय सन्तुलित विकास हुने गरी लगानी गर्ने उचित समय रहेको बताएका छन् । यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै गर्भनर पौडेलले लगानीको अवसर आएको बताएका छन् ।
आइतबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गर्भनर पौडेलले यो बेला बैंकमा निक्षेप उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी उचित लगानी अवसर आएको उल्लेख गरे ।
उनले भने, “राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको छ, अब वित्त नीतिले नेतृत्व गरी ऊर्जाजस्तै लगानीका अरु क्षेत्र पहिचान गर्नुपर्छ ।” मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने समय आएको बताउँदै गर्भनर पौडेलले बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको उनले बताए ।
छलफल कार्यक्रममा बोल्दै गर्भनर पौडेलले अझै पनि ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण जान नसकेकोले आगामी मौद्रिक नीतिबाट त्यसलाई सम्बोधन गरिने उनले बताएका छन् । उनले भने “जुन क्षेत्रमा लोन जाओस् भन्ने चाहेका हौं, त्यहा पुगेन भन्ने गुनासो छ, त्यसलाइ सम्बोधन गर्ने प्रयास आगामी मौद्रिक नीतिमा हुनेछ ।”
सबै क्षेत्रलाई समेट्नेखालको मौद्रिक नीतिको आवश्यकता रहेको भन्दैै गर्भनर पौडेलले दिगो विकासलाई नेपाल राष्ट्र बैंकल सदैव प्राथमिक दिने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया