२०८२ असार २६

राजसंस्था पुन स्थापना गर्ने भन्दै राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन अराजक बन्दा एक पत्रकार सहित दुई जनाको मृत्यु भयो । गणतन्त्रवादी दलहरू र सरकारले बेलैमा सुरक्षा संवेदनशीलताको गम्भीरता सम्भावित दुर्घटनाको सूक्ष्म विश्लेषण गर्न नसक्दा उक्त क्षति भएको भन्न हिचकिचाउनु पर्देन् । अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा र नेता मिश्र हिरासतमा मुक्त भएका छन् भने प्रसाईँ हिरासतमै छन् ।
तीनकुनेमा घटनाका बारेमा अनुसन्धान सकेर सय भन्दा बढिलाई विभिन्न कसुरमा मुद्दा दर्ता पनि भैसकेको छ । मुद्दा अदालतमा विचाराधीन छ । तर दोस्रो ऐतिहासिक जन आन्दोलन पछि संविधान सभा मार्फत १८ वर्ष अघि वैधानिक रूपमा बिदा गरेको राजसंस्था पुन स्थापनाको मुद्दा उठाएर १८ औ गणतन्त्र दिवसका अवसरमै राजसंस्था पक्षधर समूहले ‘संयुक्त जनआन्दोलन’को नाममा हिजोदेखि पुनः आन्दोलन र प्रदर्शन थालेको छ । फागुनमा पूर्व राजा पोखरा बाट फर्किदा विमान स्थलमा स्वागत गर्न जानेको सङ्ख्या भन्दा गत चैतमा प्रदर्शनमा उत्रेका राजावादीहरूको सङ्ख्या केही बढी रहेको अनुमान धेरैको छ । तर उक्त प्रदर्शन अराजक र उग्र भएको र जनधनको क्षति भएका कारण त्यसपछिका दिनमा राजसंस्था पुन स्थापनाका नाममा हुने गरिने प्रदर्शनमा सहभागिता न्यून हुन सक्ने अनुमान गणतन्त्र पक्षधरहरूको थियो । तर जेठ १५मा राजसंस्था पक्षधरको प्रदर्शनमा देखिएको सहभागिताले गणतन्त्रवादी दलहरूको अनुमानलाई फेल मात्र खुवाएको छैन एक पटक गम्भीर भएर सोच्न बाध्य पनि पारेको हुनु पर्छ ।
जेठ १५ गतेको राजावादीहरूको प्रदर्शनमा कट्टर राजतन्त्रवादी मात्र सहभागी थिए भनेर भन्दा सर्वथा गलत विश्लेषण हुन्छ । किनकि उक्त प्रदर्शनमा विगतमा काँग्रेस, एमाले र माओवादी पृष्ठभूमि भएका हरूको सहभागिता पनि भेटिएको छ । उनीहरूको उक्त प्रदर्शनमा सहभागिता राजा फर्काउनका लागि भन्दा पनि ती पार्टीका नेतृत्वको कार्यशैली प्रतिको असन्तुष्टि हो भन्ने पनि प्रष्ट देखिएको थियो । अन्यथा उनीहरूले केपी शर्मा ओली, शेरबहादुर देउवाहरुबिरुद्ध देश छोडको नारा लगाउँदैन थिए ।
देशका पूर्व बहालवाला र हुनेवाला प्रधानमन्त्री विरुद्ध त्यस प्रकारको छुद्र र उग्र नारा लाउनु हुन्थ्यो हुन्थेन कति राजनीतिक कति गैर राजनीतिक कति उचित कति अनुचित भन्ने एउटा पाटो हो तर उनीहरूले दललाई मुर्दावाद भनेनन् शीर्ष नेतामाथि खनिए । यसबाट दलका शीर्ष भनिने नेताहरूले आफैले आफैलाई प्रश्न गर्नु पर्छ किन मलाई मुर्दावाद भनियो ? राजतन्त्रवादीहरूले त भनिहाल्छन् नी भनेर मात्र लिए भने त्यो नेताहरूको भूल हुने छ । किनकि राजाको प्रत्यक्ष निरङ्कुश शासन नदेखेका नभोगेका नेपाली बालकहरू अहिले युवा भैसकेका छन् । उनीहरूले बुझ्ने भरसकेपछि देखेको भोगेको भनेको केपी ,शेर बहादुर र पुष्पकमल दाहाल प्रचण्डको म्युजिकल चेयर गेम मात्र हो । यो गेम बाट युवाहरू आजित भैसकेका छन् र त्यसैको असन्तुष्टि दिन प्रतिदिन अझै चुलिँदो छ ।
संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गरिएयताका सरकार बन्दा भ्रष्टाचार चुलिएको र सुशासन सुनिश्चित गर्न मूलधारका राजनीतिक शक्तिहरू खरो उत्रन नसकेको भन्ने असन्तुष्टि आमजनतामा निकै चर्केको शिर्ष नेताहरूले नै सार्वजनिक रूपमा स्वीकार गर्ने गरेका छन्। राजावादीहरूले हिजो पहिलो दिनको आन्दोलन रत्नपार्क केन्द्रित गरेका थिए । दोस्रो दिन आज माइतीघरमा गरे । भोलि भने नारायणहिटी दरबारकै अगाडि जनप्रदर्शनको तयारी गरेका छन् । राजावादीहरूले लामो समय सम्म धेरैलाई सङ्गठित गर्दै लान त नसक्लान् तर गणतन्त्रवादी दल समर्थकहरू, राजतन्त्रको समर्थकहरू भन्दा ठुलो र निर्णायक समूह जो असङ्गठित छ त्यो हो आम नागरिकको समूह ।
हिजो पनि एकातर्फ एमालेको प्रदर्शन अर्को तर्फ राजावादीको प्रदर्शन भइरहँदा बाटो जाम भए पछि आक्रोशित भएका युवाहरू जसले खुलेरै न राजावादी न गणतन्त्रवादी हामी नेपाल देश बादी नेताहरू चोर भनेर मिडियामा आक्रोश पोखी रहेका थिए त्यस्ता युवाहरूको असन्तुष्टिलाई गलत तत्त्वले उपयोग गर्यो भने देशको अवस्था के होला यसै भन्न सकिँदैन । त्यसैले दलका नेताहरूले आफू र आफ्नो कार्यशैलीलाई बेलैमा नसुधार्ने हो भने आफू सँगै व्यवस्था र देश डुबाउने खतरा बढ्दै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया