
ललितपुर । सरकारले यस आर्थिक वर्षमा करको दायरा उल्लेख्य रुपमा विस्तार गरेको छ । यस आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्र करिव पौने ६ लाखको हाराहारिमा नयाँ करदाता थपिएका छन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मात्रै ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कअनुसार नेपालमा चैत मसान्तसम्ममा स्थायी लेखा नम्बर लिने कुल करदाताको सङ्ख्या ६७ लाख ९९ हजार ८९५ पुगिसकेको छ । तथ्यांक अनुसार कुल जनसंख्याको करिब २३ प्रतिशत करको दायरामा आएको देखाएको छ ।
यसअघिको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा उल्लेख्य रुपमा करदाता थपिएका छन् । अघिल्लो आर्थिक वर्ष चैत मसान्तसम्मको तथ्यांक हेर्दा नेपालमा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । चालू आर्थिक वर्षको सोही अवधिको तथ्यांक हेर्दो करिव २२ हजार भन्दा बढीको संख्यामा करदाता बढेको तथ्यांकले देखाएको छ ।
पछिल्लो समयमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । अहिले व्यक्तिगत आए भएका व्यक्तिहरुले प्यान नम्बर लिने गरेका छन् । यसले औपचारिक रुपमा आर्थिक गतिविधि बढाएको देखिन्छ । यसरी व्यक्तिगत प्यान लिनेको संख्या बढिरहेको छ । पछिल्लो समयमा व्यक्तिगत प्यान लिनेको संख्या ४७ लाख २७ हजार ७५४ पुगेको छ । त्यसैगरी व्यवसायिक प्यान लिनेको संख्या पनि यो नौ महिनाको अवधिमा उल्लेख्य रुपमा बढेको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा करिव ९१ हजार ७७३ नयाँ व्यावसायिक प्रतिष्ठानहरु करको दायरामा आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया