ललितपुर। सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउन प्रतिबद्धता जनाए सदन चल्न दिने निष्कर्ष विपक्षी दलले निकालेका छन् । सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा आज पनि प्रतिनिधिसभाको बैठक बस्न सकेन । शुक्रबार १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म पनि बस्ने सकेको छैन ।
आज पनि संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दलहरूको बैठक बसेको थियो । बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको हो । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।
विपक्षी दलको आज बसेको बैठकबाट भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए सदन चल्न दिने निष्कर्ष निकालेका छन् । बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जनाए स्वत संसदको गतिरोध अन्त्य हुने बताएका छन् ।
यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका विपक्षी दलहरु पछिल्लो समय यस अडानबाट हटेर छानबिन समिति गठनमा मात्र सीमित भएका छन् ।
यता सत्तापक्षले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको ठहर गरेको छ ।