काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे । “सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने ।
नीतिगत र कानुनी सुधार आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री लेखकले नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न नसकिने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन छलफलका लागि संसदीय समितिमा पुगिसकेका जानकारी दिँदै उनले मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको बताए । “हज र नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पुगेको छ, कारागारसम्बन्धी नियमावली आजै मन्त्रिपरिषद्मा लैजाने गरी निर्णय भएको छ”, उनले भने, “अन्य महत्वपूर्ण कानुन चाँडै संसद्मा लगिनेछ ।”
उनले अध्यागमन प्रशासनलाई सुधार गर्न छुट्टै मापदण्ड बनाउन आफूले निर्देशन दिएको उल्लेख गर्दै पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुँदै आएको सेवा प्रवाहमा सुधार आएको दाबी गरे । मातहतका निकायबाट कार्यसम्पादनका क्रममा कहिलेकाहीँ कमजोरी हुन सक्ने स्वीकार्दै उनले त्यसबाट सिकेर अगाडि बढिने पनि बतए । लोकतन्त्रमा आलोचना स्वीकार्य भएको जनाउँदै नेपाली कांग्रेसका नेता लेखकले कमिकमजोरी औँल्याइदिएर सहयोग गर्न सञ्चार जगतसँग आग्रह गरे ।
गृहमन्त्री लेखकले गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको पनि जानकारी दिए । उनले सुरक्षा व्यवस्था कायम गर्न अपनाइएका विधिका बारेमा पनि प्रहरीले आन्तरिक छानबिन गरिरहेको बताए । तीनकुनेको प्रदर्शनमा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत प्रदान गर्ने तयारी भइरहेको पनि उनले बताएका छन् ।
मन्त्री लेखकले भारतको कस्मिर क्षेत्रमा भएको घटनामा नेपाली युवा सन्दिप न्यौपोनको मृृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको पत्रकारहरुलाई जानकारी गराए । नेपालमै इन्जिनियरिङ अध्ययन गरिरहेका न्यौपानेको पारिवारिक भ्रमणमा रहेका बेला आक्रमणमा परेर निधन भएको उनले बताए । उनले घटनाका बारेमा यथार्थ बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको पनि जानकारी दिए ।
मन्त्री लेखकले आन्दोलनरत शिक्षकका मागका सम्बन्धमा पनि विभिन्न कोणबाट छलफल भइरहेको जानकारी दिँदै तत्काल पूरा गर्न सम्भव मागलाई सम्बोधन गरेर जाने तयारी भइरहेको पनि बताए । “शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने, शिक्षकसँग वार्ता र संवादमार्फत आन्दोलनलाई सम्बोधन गर्ने पक्षमा छौँ”, उनले भने, “सरकार शिक्षकसँग छलफलमै छ ।”