काठमाडौं । कांग्रेस सांसद माया राई सहकारी ठगी प्रकरणमा पक्राउ परेकी छिन् । उनलाई कपनस्थिति निजी निवासबाट पक्राउ गरिएको हो । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी सांसद राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।
शनिबार राति नै पक्राउ परेकी राईलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ । राईमाथि थप अनुसन्धानका लागि आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
यसअघि नै सहकारी ठगीको मुद्दा अदालत गइसकेकाले सांसद राईलाई सोझै अदालत उपस्थित गराउने वा म्याद लिएर अनुसन्धान गर्ने भन्ने थियो । तर, उनको नामबिनै अघिल्लो पटक सहकारी ठगीको मुद्दा दायर भएकाले म्याद थप गरेर पुरक अभियोजन लगेर मुद्दा चलाइने भएको हो ।
राईलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो । यसअघि दुई महिना लामो अनुसन्धान सकेर परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरिसकेको छ ।
सांसद राई विगतमा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई यसअघि भने उन्मुक्ति दिइएको थियो ।
सहकारी ठगी प्रकरणमा राई समेत अन्य जनालाई उन्मुक्ति दिँदै २१ पुस ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुले ६ सय ९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।