सुनसरी । सात सय ८३ किलो गाँजासहित सुनसरीबाट दुई जना पक्राउ परेका छन् । सुनसरी सशस्त्र प्रहरी बलले गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई हिजो (बुधबार) नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त सुरक्षा फौजले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।
सुनसरी र धरानको संयुक्त सुरक्षा फौजले धरान उप महानगरपालिका–१३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको शंकास्पद ट्रकलाई चेकजाँच गर्दा उक्त परिणामको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजासहितको ट्रक, चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरूलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि बुधवार राति जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।