ललितपुर । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यो मञ्चमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने बताएकी छन् ।
‘दक्षिण एसियाका लागि जलवायु अनुकूलन र सहनशीलता’सम्बन्धी आज काठमाडौँमा आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले सोही बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक पर्ने स्पष्ट पारिन् ।
मन्त्री डा राणाले भनिन् “यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन् । त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा मञ्च निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरिएको हो । त्यसैले यो सबैको साझा मञ्च हो ।”
हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, वन डढेलोलगायत जलवायुजन्य गम्भीर प्राकृतिक विपद्को सामना गरिरहेको दृष्टान्त पेस गर्दै यस्ता समस्याहरूको दीर्घकालीन समाधान खोज्न यो कार्यक्रम महत्त्वपूर्ण रहने मन्त्री राणाले विश्वास व्यक्त गरिन् ।
मन्त्री डा राणाले शुक्रबारदेखि काठमाडौँमा आयोजित हुने यस कार्यक्रम अन्तरराष्ट्रियस्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण मञ्च रहेकाले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दाहरूमा छलफल हुने जानकारी दिइन् ।
मन्त्री डा राणाले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको र यससम्बन्धी नीति तथा रणनीतिक कार्ययोजनाहरू निर्माण गरी काम गरिरहेको जानकारी गराइन् । नेपाल पेरिस सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताउँदै सरकारले हरित ऊर्जाको प्रवद्र्धन, विद्युतीय सवारीसाधनको प्रयोग, सामुदायिक वनसहित वन विस्तारलाई प्रोत्साहन तथा जलाशय, राष्ट्रिय निकुञ्ज र अन्य प्राकृतिक सम्पदाको संरक्षणसम्बन्धी नीतिहरू लिएको उनले जाकारी दिइन् ।