ललितपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने टिप्पणी गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका हुन् ।
उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संसोधन आवश्यक भएको बताए । सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे ।
त्यस्तै, सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दसैँ आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए ।