काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नेपालको सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिने बताउनुभएको छ ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको विहीबार उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अब समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गरिने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो– “अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ” । “हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । आगामी दिनमा हामी हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ । ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताउनुभयो ।
महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
साथै अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा आफ्नो पार्टीले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन समेत आग्रह गर्नुभयो ।