काठमाण्डौ ०२ चैत २०८०
गठन भएको साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेको छ ।
९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ । आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको छ । विभागीय कारबाही, सीडीआर/डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेद बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि उनको भनाइ छ । कमजोरी गर्ने जुनसुकै निकाय र व्यक्तिविरुद्ध कारबाही हुने गृहमन्त्री लामिछानेले बताएको उनको सचिवालयले जनाएको छ । विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने गृहमन्त्री लामिछानेको भनाइ छ ।
मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी थिए । सुरुमा ३ महिना समय दिइएको आयोगको समयसिमा पछि दुईपटक थप गरिएको थियो ।