ललितपुर । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।
सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताए । आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्द निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले बताएका छन् ।
एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए ।
सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् । मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ । अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ ।
सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ । जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए ।
यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन् । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन् । त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन् । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भङ्ग गर्ने योजनामा छन् । भारतकी सबैभन्दा जेष्ठ नागरिकले पनि आरोहण गर्ने तयारीमा छिन् । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् ।
समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको छ । माइनस २० डिग्रिको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ
अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको छ । पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक÷दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ ।