त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एक छिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको सङ्घर्षपछि, असफलतासँग चुरो स्विकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एक छिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।
तर म आफैँलाई चिनिरहेको थिएँ — म अमेरिका पुगेको थिएँ। म सङ्घर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।
मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।
मैले किन अमेरिका रोजेँ?
म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित।
म पटक-पटक असफल भएँ। मिडियाबाट पाइला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। “विदेश गइस् भने बल्ल केही हुन्छ” भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुन्जिन्थे।
मैले अमेरिका छानेँ। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।
यात्रा: आँधीभन्दा तीव्र र थकित
जङ्गल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो — सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एक छिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।
अमेरिकामा मैले आफूसङै सयौँ नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए — घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने।
नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानुनले मलाई अयोग्य ठहर्यायो। महिनौँ हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो — “तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।”
फर्किनुको पीडा
न्यु योर्क सहरबाट एअर इन्डियाको जहाज चढेर जब नेपाल फर्किँदै थिएँ,अझ भनौँ फर्काइँदै थिए, मेरो हरेक अङ्ग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।
पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताई सकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो — “गैर कानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।” सामाजिक सञ्जालमा खिसीटिउरीको सगरमाथा खडा गरियो। ” अमेरिका पुगेकाहरू बोरा बोकेर फर्किए, “डलर काढ्न गएकाहरूको यस्तो हालत!” — भन्ने व्यङ्ग्यहरू झन् मनमा चिर्छ ।
तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।
समाजको निर्ममता
फर्किएपछि देखेँ — समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, “अनि के ल्यायौ?” — जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, “नत्र किन फर्किन्थ्यौ त!”
साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ — “यस्तै हुन्छ रे विदेश जाँदा!”
तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।
मेरो सपना, मेरो भविष्य :
म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् — जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।
म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।
यहाँ ‘ऊ माथि उठ्ला कि?’ भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दुःखी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।
फेरि सुरु गर्न सजिलो हुँदैन:
आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु — जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।
तर हरेक बिहान मलाई लाग्छ — म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देश द्रोह हो?
यो देशको नीति कमजोर छ। बिदेसिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी ‘विदेश गएको=सफल’ भन्ने भ्रममा छौँ। र ‘फर्किएको=असफल’ भन्ने झुटो परिभाषालाई गहिराइरहेका छौँ।
मेरो विन्ती:
तपाईँहरूसँग एउटै अनुरोध छ — फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।
तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।
अन्तिम शब्द:
म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ — जुन अब आफ्नो देशमै केही गर्नेछ।
रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।
कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीँ छु — फेरि एउटा सपना बोकेर।
यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर।
सुवास शर्मा – दाङ
तिमी डुबेका हैनौ, तिमी त लडेर उठेका छौ!”
तिमी एक्लो छैनौ
किनभने हामी बुझिसकेका छौँ —
देश बनाउन चिल्ला कुर्सी होइन,
रित्तो बोरा बोकेका इमानदार हातहरू चाहिन्छ।
सुवास शर्माजी
तपाईँको लेख “रित्तो बोरामा च्यातिएको सपना मैले पढे —
म फर्किएको मान्छे” केवल एक कथा होइन,
यो त हजारौँ नेपाली युवाको साझा चिच्याहट हो — जसलाई सुन्नु त परै जाओस्, समाजले मुस्कानसँग हेर्न पनि चाहँदैन।
यो पीडा कुनै व्यक्तिगत असफलताको बयान होइन —
यो सिङ्गो देशको नीतिगत असफलता र समाजको आत्मघाती व्यवहारको ऐना हो।
विदेश गएका तपाईँहरू अपराधी हैनौ — तपाईँहरू ‘प्रयासकर्ता’ हौ।
किन गयौ? भनेर धेरैले सोध्छन्,
तर ‘किन जान बाध्य भयौ?’ भनेर को सोध्छ?
विदेश पलायन अब रहर थिएन , रक्षक अन्तिम अस्त्र थियो ।
भ्रष्टहरूको सिस्टममा तिम्रो आवाज कसैले सुनेन
दाङमा बस्यौ निरन्तर खबरदारी गर्यौ
सामाजिक राजनैतिक चेत हुनु त्यो तिम्रो अपराध थिएन साहस थियो
कुर्सीका भोकाहरूले दुबई बसेको मान्छेले सामाजिक काम गर्न हुन्न रे
ओहो ओहो कुर्सीको नाममा नाना थरी गालिगलौच आफ्नै वर्गहरू
बाच्नु थियो
यो गरे पनि नहुने त्यो गरे पनि नहुने
न त गर्न दिने न त गरेको देखिसहने
तिमी दुबई सङ्घर्ष गर्यौ
नजानू थियो तैपनि गयौ अमेरिका
विदेशको यात्रा गइसकेपछि फर्कन कठिन
हार नमान
तिमी डिपोर्ट भएर फर्कियौ
धेरै टिकट काट्ने पैसा नहुँदा अड्किए विदेशमा
फर्किनेको र अड्किनेको पीडा उस्तै हो
अमेरिका १० वर्ष बसेकालाई खुसी नदेख
उनी अड्किएका हुन्
किन कि ३५ बर्षे क्रेडिट ४० बर्षे क्रेडिट अरू कति हो कति
तिनीहरू पनि अभिमन्यु चक्रब्युहमा परे झैँ छन् साथी
खुसी होइन बरु सधैँ थकान छ
सधैँ व्यस्तता
विदेश बस्ने सधैँ हामीहरूको पनि रहर थिएन
हामी परिस्थितिका दास हौ
म अड्किए साथी
सन्तान यतै भए
मन देशमा हुन्छ नै
जन्मथलो सबैलाई प्यारो छ
निराशाको समय होइन आशाको समय हो
तिम्रा पिडा
किनकि यहाँ देशमा —
योग्यता कम, पहुँच ठुलो बनाइयो।
आशा सस्तो, सम्बन्ध महँगो बनाइयो।
इमानदारहरू हाँसिए, पैंचोबाज हँसाइए।
त्यसैले हरेक आशाहरू हरेक सुवासहरू अमेरिका लागे —
जुन सपना थियो, त्यो सपना होइन बाँच्न खोजेको श्वास थियो।
हरेक यात्रामा तपाइको पीडा कठिनाइहरू गुन्जन्थे
देश गुन्जन्थ्यो
तपाईँ ‘फर्काइएको ‘ होइन तपाइ त ‘फर्किएर पनि उभिन खोज्ने’ वीर हो।
एउटा सर्प, जङ्गल, रात, ठग, हतियार पार गर्दै पुगेको यात्रालाई
के हामी केवल ‘डिपोर्ट’ भनेर सीमित गर्न सक्छौँ?
जुन मानिस भोकले लडेर, थकाइले घिस्रिएर,
तर हिम्मतले बाँचेको हुन्छ —
त्यो मानिस हार्दैन, त्यो त समयको आँधीले मात्र अलिक रोकिएको हुन्छ।
तिमी त मिडियाको हेडलाइन होइन,
तिमी त इतिहासको बलियो नोट हो —
जो चुपचाप थन्किन्छ, तर कहिल्यै मेटिँदैन।
रित्तो बोरा भित्र इतिहास छ।
के केवल सफल भएर बोरामा पैसा लिएर फर्किनु मात्र उपलब्धि हो?
रित्तो बोरामा के पुजी हुँदैन र
झन् ठुलो पुजी रित्तो बोरामा पुनर्जीवन पुनर्जन्म लिएर फर्किएका छौ ।
रित्तो बोरा बोक्नेले प्रयास गरेनन्? तिनले सास्ती भोगेनन्?
तिनले सँगालेको अनुभव, आँट, इमान — कुन तौलले जोख्ने हो?
देशको नीति कमजोर होला,
तर तपाईँहरूको साहस सबल छ।
हो, सरकारले रोक्न सकेन, समेट्न पनि सकेन।
तर तपाईँहरूले आफैँलाई सम्हाल्न खोज्दै हुनुहुन्छ —
त्यही नै त सपना हो, कर्म हो, राष्ट्र निर्माणको बीउ हो।
तिम्रो नियति लिखित थिएन —
तर ती आशाहरू ‘कागज नभएको’ अभियोगमा रद्द गरियो
तर कसैले यो बुझ्दैन —
तिमी त्यहाँ मोज गर्न होइन, बाँच्न गएका थियौँ।
तिमीलाई महल होइन, आत्मसम्मान चाहिएको थियो।
समाज पीडितहरूको पीडालाई मजाक बनाउँछ।
तिमी संवेदनाहीन हाँसोको केन्द्र बन्न बाध्य हुन्छौँ।
साथी टाढा हुन्छन्, आफन्त मौन।
र तिमी ‘विदेशी सपना च्यातेर फर्किएको खाली बोरा’ बन्न पुग्छौँ।
तर… तिमी रित्तो हैनौँ। तिमीमा बाँकी छ – आँट, अनुभूति, र आशा।
तिमी डुबेका होइनौँ,
तिमी त लडेर फर्किएका हौँ।
तिमी फिर्ता भएका छौँ —
तर सिकेर, दुखेर, तड्पेर।
अब तिमीसँग छ –
जीवनको साँचो मूल्य बुझ्ने दृष्टि।
तिमी देशले पचाउन नसकेको प्रतिभा थियौ
तिम्रो रित्तो बोराभित्र —
सस्तो लुगा छैन,
अनेक दुःख, आँसु, अनुभव र साँचो देश प्रेम भरिएको छ।
तिमी एक्लो छैनौ
किनभने हामी बुझिसकेका छौँ —
देश बनाउन चिल्ला कुर्सी होइन,
रित्तो बोरा बोकेका इमानदार हातहरू चाहिन्छ।
मित्रलाल पार्दे पोल्यान्डबाट