जानकपुरधाम । जनकपुरमा जानकी जन्मोत्सव एवं जानकी नवमी यस वर्ष पनि मनाइदैछ । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जनकपुरमा विकासलाई गति दिन मिथिलाको धार्मिक सम्पदा, कला सांस्कृति तथा भेषभुषालाई उजागर गर्ने उद्देश्यका साथ हरेक वर्ष मनाइने जानकी जन्मोत्सव यस वर्ष पनि मनाउन लागिएको हो ।
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आज (मंगलबार) देखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने छ भने अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ ।
धार्मिक पर्यटकलाई जनकपुर ल्याउन विशेष रुपमा जानकी नवमीमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजन गरी धुमधामले मनाउने गरिन्छ । यस वर्ष जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।
जनकी जन्म महोत्सवमा प्रत्येक वर्ष जानकी मन्दिरको बहुमूल्य गरगहनाहरु प्रर्दशन गर्दा धार्मिक पर्यटकहरु जनकपुर आउने विश्वासका साथ यस पर्वमा गरगहना प्रर्दशर्न गर्नु विशेष मानिन्छ ।
प्रत्येक वर्ष जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।
प्रत्येक वर्ष विशेष गरी भारतबाट धार्मिक पर्यटकहरु भित्र्याउन जानकी नवमीमा विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । त्यसैले यस वर्ष पनि जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी भइरहेको छ ।