एजेन्सी – बार्सिलोनाले ओसासुनालाई बिहीवार ३-० हराएपछि स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ।
रोबर्ट लेवान्डोव्स्की र राफिन्हालाई विश्राम दिएपनि क्याटलान क्लबले फेरान टोरेसको र डानी ओल्मोको पेनाल्टी गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो ।
दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले ७७औं मिनेटमा हेडरमार्फत तेस्रो गोल गर्दै बार्सिलोनाको लगातार छैटौँ जित पक्का गरे।
बार्सिलोनाको सबै प्रतियोगितामा अपराजित यात्रा १९ खेल पुगेको छ।
टोरेसले खेलको ११औं मिनेटमा अलेजान्द्रो बाल्डेको उत्कृष्ट क्रसमा सिक्स-यार्ड बक्स भित्रबाट पहिलो टचमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
त्यसको १० मिनेटपछि ओल्मोले पेनाल्टीबाट अग्रता दोब्बर बनाए। उनलाई लडाइएकाले बार्सिलोनाले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा पहिलो प्रयासमा ओल्मोको प्रहार विपक्षी गोलकिपर रोके । ओसासुनाका खेलाडी पेनाल्टी क्षेत्रभित्र छिटो प्रवेश गरेको पाइएकोले दोस्रो प्रयास गर्न दिइयो, त्यसमा उनले गोल गरे।
लेवान्डोव्स्कीले खेलमा प्रवेश गरेको सात मिनेटमै नजिकैबाट हेडर गर्दै सिजनको आफ्नो २३औं गोल पूरा गरे र टोलीलाई सहज जित दिलाए।
शीर्ष स्थानको बार्सिलोनाले २८ खेलबाट ६३ अंक जोडेको छ। रियल ६० अंकका दोस्रो ,एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा छ। ओसासुना १४औं स्थानमा छ।