ललितपुर । २०५४ साल जेठ ९ गते स्थपना भएको दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथाले आज आफ्नो स्थापनाको २९ औं वर्षका अबसरमा एक कार्यक्रम सम्पन्न गरेको छ ।सगरमाथाको स्थापना दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले लिखित शुभकामना सन्देश पठाएका थिए । सन्देश मार्फत नेपाली सञ्चार जगतमा रेडियो सगरमाथाले फरक अभियान सञ्चालन गरिरहेको भन्दै राष्ट्रपतिले बधाई दिएका थिए ।
आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पन्तले लोकतन्त्रमा मिडियाको शक्ति अथाह हुने हुँदा त्यसको उपयोगमा गम्भीर भएर ध्यान दिनु आवश्यक रहेको बताए । नयाँ डिजिटल मिडियाले रेडियोहरूलाई लखेटिरहेको हुँदा त्यसलाई सामना गर्ने तागत राख्नु नै रेडियोको प्रमुख चुनौति रहेको मन्त्री पन्तको भनाई थियो ।
उनले सञ्चारमाध्यमहरूवाट व्यक्तिहरू ’भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताए । मन्त्री पन्तले बढ्दो कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग रोक्न आवश्यक रहेको बताउदै उनले कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग हुन नदिन पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गर्न जरुरी रहेको भनाई राखे । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहेर पत्रकारिता गर्न नसकेको अवस्थामा कृत्रिम बौद्धिकता विध्वंसकारी हतियार हुनसक्ने उनको भनाइ थियो । मन्त्री पन्तले सञ्चार माध्यमले व्यक्तिहरूलाई अनुचित ढङ्गले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका पालना गर्नु आवश्यक रहेको समेत बताए । उनले सामुदायिक रेडियोहरूको शुरुवातकालीन चुनौतीहरू स्मरण गर्दै वर्तमान डिजिटल युगमा पत्रकारिताको सामाजिक उत्तरदायित्व झनै महत्त्वपूर्ण भएको बताए ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव–राधिका अर्यालले प्रजातन्त्र, लोकतन्त्रलाई बलियो बनाउन रेडियो सगरमाथाले महत्वपूर्ण भूमिका निभाएको बताइन् । यसैगरी सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले रेडियो सगरमाथाले रेडियोका लागि बनाएको मानक गौरवमय रहेको भन्दै उनले पछिल्लो समय रेडियोले आर्थिक र प्रविधिसँग सम्बन्धित चुनौतिको सामना गर्नु परेको बताए । समुदायको विकासमा सामुदायिक रेडियोको महत्व झनै बढेको भन्दै गिरीले रेडियो सगरमाथाको स्थापनादेखि अहिलेसम्मका हरेक कालखण्डमा कहिले सँगै त कहिले अलिपरबाट भोग्ने देख्ने अवसर पाएकोले यसका सुखदुःखको साक्षी रहेको स्मरण गरे ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवम् आम सञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रेडियो सगरमाथा जनताको भएको भन्दै यसमा हरेक नागरिकले अपनत्व लिने ठाउँ रहेको बताए । उनले पत्रकारितामा एउटा विवेक र अर्को नैतिक्ता दुई चिज महत्वपुर्ण हुने भन्दै विवेक र नैतिक्ताको औजार नचलाउनेले पत्रकारिता गर्न गाह्रै हुने बताए । पछिल्लो प्रविधिलाई चुनौति भन्दा पनि अवसरको रुपमा लिनुपर्ने उनले बताए ।
रेडियो सगरमाथा सञ्चालन बोर्डका अध्यक्ष डा. घमराज लुइटेलले स्थापनाकालका सन्दर्भहरूलाई स्मरण गर्दै समाचार कक्षले हरेकलाई समेट्न सक्नु पर्ने बताए । उनले रेडियोको कार्यक्रमलाई स्तरीय बनाउने काम रेडियोकर्मीकै हुने हुँदा सोही अनुसारका काम गर्नुपर्नेमा जोड दिए ।
नेपालको स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथा एफएम १०२ थोप्लो ४ मेगाहर्जले करिव ३ दशकदेखि समुदाय एवम् राष्ट्रियस्तरमा सामाजिक न्याय, लैङ्गिक समता, विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संस्कारको विकास र विस्तारमा नेतृत्वदायी भुमिका खेल्दै आएको छ । प्रशारण शुरुवातदेखि निरन्तर रुपमा सामुदायको उन्नति र प्रगति तथा सकारात्मक समाज परिवर्तनका लागि रेडियो सगरमाथाले महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।