२०८२ कार्तिक २३ | Nov 09, 2025

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ८
|
459 views

महेन्द्रनगर इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ । आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’ नामाकरण गरिएको हो । कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उहाँको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गर्नुभयो । “साहसिक व्यक्तित्व स्व जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो ।

उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ”, उहाँले भन्नुभयो । वडाध्यक्ष धामीले हाल स्थानीयवासीसहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताउनुभयो । दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया