Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार–२०२५’ बाट कवि शशी मुलुम्बू सम्मानित

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान–२०२५’ द्वारा पुरस्कृत एवम् सम्मानित भएका छन् । शृङ्खलाद्वारा शनिबार अनामनगरस्थित सिलौटो कटेजमा आयोजित भब्य समारोहबीच लुमुम्बू पुरस्कृत तथा सम्मानित भएका हुन् ।

समारोहमा उनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, कविवर तथा मुन्धुमविद् बैरागी काइँलाले दोसल्ला तथा सम्मानपत्र अर्पण गरी नगद पचपन्न हजार पाँच सय पाँच रुपैयाँसहित पुरस्कृत तथा सम्मानित गरेका हुन् ।

समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले हङकङमा बस्ने नेपालीहरुले साहित्यमा गरेको योगदान धेरै ठूलो रहेको भन्दै हङ्कङ उक्त योगदानको सह्राना गर्नुपर्ने धारणा राखे । प्रवास र नेपालमा रहेका साहित्यकारहरूलाई जोड्ने पुलको रुपमा भने शशी लुमुम्बुले गरेको उल्लेख गर्दै काइँलाले प्रकाशन नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे । “देश बाहिर जाने साहित्यकारलाई देशभित्र रहने साहित्यकारहरूसँग जोड्ने थोरै साहित्यकारहरू छ, तिनीहरुमध्ये शशी लुमुम्बु एक हुनुहुन्छ । हामीले कुन साहित्यकार कुन देशमा, कुन क्षेत्रमा हुनुहुन्छ ? भनेर वहाँलाई सोध्दा हामीलाई बताउन सक्नुहुन्छ’, काइँलाले भने, ‘यसरी काम गर्दै जाँदा शशी ज्यू कहाँ हुनुहुन्छ ? भनेर खोज्ने दिन आउँदो रहेछ । वहाँ आफैमा पनि साहित्यकार, कवि र कुसल संयोजक हुन् । यसरी वहाँलाई सम्झेर हङकङ साहित्य शृङ्खलाले साह्रै राम्रो काम ग¥यो ।’

यस्तै, प्राज्ञ तथा कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताए । शृङ्खलालाई धन्यवाद दिँदै मुकारुङले– “यो शशी सर हैन, यस्तो पात्रलाई पुरस्कार दिनुभयो तपाइँहरुले, यो तपाइँहरुको संस्था पुरस्कृत भयो भन्ने म ठान्छु । किनभने मैले शशी सरको जर्नी थाहा पाउँछु । वहाँको संघर्षहरू । तपाइँहरुलाई पनि थाहा भएकै कुरा हो । यत्ति धेरै पुरस्कार वहाँले अरुलाई दिलाउनुभएको छ । यति धरै स्रष्टाहरूलाई एउटा पुरस्कृत श्रष्टा बन्न वहाँले उत्प्रेरित गर्नुभएको छ । यति धेरै श्रष्टाहरूको कृति सम्पादन गरिदिनुभएको छ । यति धेरै यस्ता मञ्चहरू वहाँहरूले क्रिएट गरिदिनुभएको छ”, उनले थपे, “यो हामी भेला भएको छौं, त्यसको निरन्तरता पनि हो भन्ने मलाई लाग्छ । कविता लेखनका अतिरिक्त अन्य लेखकहरूका कृतिको सम्पादन, विभिन्न महत्वपूर्ण कार्यक्रमहरूको संयोजन आदिका माध्यमबाट शशी लुमुम्बूले अतुलनीय योगदान दिनुभएको छ । स्थापित पुरस्कार तथा सम्मान पहिलो पटक उहाँलाई अर्पण गरेर संस्था स्वयं सम्मानित भएको छ ।”

आफूले केही काम गरेको स्वीकार गर्दै लुमुम्बूले पुरस्कार पाउनकै लागि भने काम नगरेको स्पष्ट पारे । “मैले त्यत्ति धेरै विशिष्ट योगदान दिएँ जस्तो त लाग्दैन । अलिअलि काम त गरेकै हो, तर सम्मानित हुनेगरी, पुरस्कृत हुनेगरी काम गरेजस्तो त लाग्दैन”, लुमुम्बूले भने, “लेख्दाखेरी अथवा अभियान जारी राख्दाखेरी पुरस्कार प्राप्तीका लागि, केही मानपदवी प्राप्तीका लागि गरिएको हुँदैन । राष्ट्रकै लागि भनेर पनि कतिपय अवस्थामा गरिँदैन रहेछ । यो त आत्माशान्तिका लािग, आत्मआनन्दका लागि गरिँदो रहेछ । त्यसपछि समाजको र देशको लागि हुन जाँदो रहेछ ।”

समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक÷साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको बताए । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा सभाध्यक्ष गुरुङको जोड थियो ।

शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवद्र्धनका निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कथाकार सिर्जना राईले लुमुम्बुका एक कविता वाचन गरेकी थिइन् । खदा अर्पण मन्दीरा अधिकारी खापुङ र मुन्धुम चेम्जोङले गरेका थिए भने कार्यक्रमको सहजीकरण यासेली योङहाङले गरेका थिए ।

हङकङ साहित्यिक साझा शृङ्खलाको स्थापना सन् २०१२ मा भएको हो । भर्खरै १३औं बार्षिकोत्सव मनाएको शृङ्खलाका संस्थापक संयोजक साहित्यकार चन्द्र मादेन आन्छन् हुन् भने बर्तमान संयोजक कवि जूनु राना छन् । यस्तै, संरक्षकहरू साहित्यकारहरू राजकुमार राई, देश सुब्बा, टंक सम्बाहाम्फे र दाजु गुरुङ हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया