ललितपुर। गए राति ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गुडिरहेको कार एक्कासी बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन् । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको हो । कार एक्कासी पोलमा ठोक्किएको कारमा सवार तीन जना सख्त घाइते भएका छन् ।
कारमा सवार तीन मध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । उनीहरु तीनैजनाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । ललितपुर प्रहरीका अनुसार घाइते विशाल विकको अवस्था भने गम्भीर रहेको छ । पाटन अस्पतालमा विशालको आईसीयूमा उपचार भइरहेको छ ।
ललितपुर प्रहरीका अनुसार आइतबार राति ११ बजेर १० मिनेट जाँदा ललितपुर महानगरपालिका (२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार एक्कासी बिजुलीको पोलमा ठोक्किएको थियो । कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । कार कसरी बिजुलीको पोलमा ठोक्कियो भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी छ । प्रारम्भिक अवस्थामा प्रहरीले कार तीव्र गतिमा रहेकोले आफैं अनियन्त्रित भई दुर्घटना भएको अनुमान लगाएको छ ।
दुर्घटना पश्चात् उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको हो । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल सडकको बीच भागमा पुगेकाले सवारी आवागमन बन्द गर्नु परेको ललितपुर प्रहरीले जानकारी गराएको छ ।