Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

हिम स्टार उर्जा कम्पनी आजदेखि आईपीओ निष्काशन गर्दैै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि अर्थात् जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्दैछ। यसपटक कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

यसअघि कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाइसकेको थियो । जसमध्ये कम्पनीले १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि यसपटक निष्काशन गर्न लागेको हो।

स्थानीयको हकमा शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १ देखि ५ सम्मका इच्छुक स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने जम्मा ९३ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

उक्त कम्पनीको यस आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

उक्त आइपीओमा निवेदन दिने समय आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा असार १३ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

यसका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं। २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया