काठमाडौं । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर धाम निर्माणार्थ आयोजना गरिएको शिव पुराण महायज्ञमा हालसम्म ६० लाख सङ्कलन भएको छ । चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यहीँ विश्वकै अग्लो महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि सुरु भएको उक्त महायज्ञमा आजसम्म सो रकम सङ्कलन भएको चाँगुनारायण–८ का वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीले जानकारी दिएका छन् ।
कलमसीमा रहेको ६० रोपनी क्षेत्रफलमा महादेवको मूर्ति वरिपरि एक हजार आठ शिवलिङ्गका साथै विभिन्न धार्मिक संरचना निर्माण गर्न आयोजना गरेको सो महायज्ञ यही वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ । कल्पेश्वरको १०८ फिट अग्लो महादेवको मूर्ति निर्माणका लागि दाताले सहयोग गर्ने क्रम जारी छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउँदै यस क्षेत्रमा धार्मिक पर्यटकको प्रचुर सम्भावनालाई मूर्तरुप दिन महायज्ञ आयोजना गरिएको बताएका छन् । १०८ फिटको मूर्ति निर्माणका लागि करिब दुई करोड खर्च हुने अन्मान गरिएको छ । कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यु टावरबाट नजिकै पर्छ । यहाँबाट काठमाडाँै उपत्यकालगायत काभ्रपलाञ्चोकको नाला, बनेपा, धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिने छ ।
प्रसिद्ध कलमसी क्षेत्रमा चाँगुनारायण–८, ९ र बनेपा नगरपालिका–१ को सङ्गमस्थलका रुपमा रहेको छ । यस क्षेत्रमा नाग कुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना छन् । आसपासमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर पर्छन् ।