काठमाण्डौ १३ चैत्र २०८० ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ सय ५८ वटा स्वदेशी तथा विदेशी उद्योग स्थापनाका लागि १ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ लगानीको प्रस्ताव स्वीकृत गरिएको छ ।
उद्योग विभागले गत साउनदेखि फागुनसम्ममा स्वदेशी उद्योगका लागि १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको हो । विभागले ८ महिनाको अन्तरालमा २९ अर्ब १३ करोडको विदेशी लगानी प्रस्ताव स्वीकृत गरेको पनि जनाएको छ ।
प्रस्तावित कुल १ खर्ब ८४ अर्ब लगानीमध्ये १ खर्ब २५ अर्ब ८७ करोड रुपैयाँ स्वदेशी र २९ अर्ब १३ करोड रुपैयाँ विदेशी रहेको तथ्यांक उद्योग विभागको रहेको छ । उद्योग विभागले साउनदेखि फागुनसम्ममा २ सय ५८ वटा उद्योगका लागि लगानी स्वीकृत गरेकामध्ये ३२ वटा ठूला उद्योग, २२ वटा मझौला उद्योग र २ सय ४ वटा साना उद्योग रहेका छन् ।उद्योग विभागले चालू आवमा ८० वटा ठूला उद्योग र ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य लिएको छ । लक्ष्यमध्ये ठूला र मझौला उद्योग स्थापनाका लागि ३३ प्रतिशत मात्रै सफलता मिलेको छ । यद्यपि, साना उद्योगका लागि २ सयवटा लक्ष्य लिएकामा २ सय ४ वटा उद्योग स्थापनाका लागि स्वीकृत भइसकेका छन् । यस आवको ४ महिना मात्रै बाँकी रहेको अवस्थामा उद्योग विभागले लक्ष्य नभेटिने संकेत दिएको छ ।
चालू आवमा उद्योग विभागले ३८ अर्ब विदेशी लगानी स्वीकृत गर्ने योजना बनाएकामा २९ अर्ब १३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रस्ताव भएपछि हौसिएको उद्योग विभाग चालू आवमा लक्ष्यअनुरूप लगानी भिœयाउन सफल हुने देखिएको छ ।
लगानी स्वीकृत भई दर्ता भएका २ सय ५८ उद्योगबाट १८ हजार १ सय ५३ जनालाई रोजगारी मिल्ने अपेक्षा गरिएको छ । फागुनमा मात्र दर्ता भएका २२ वटा उद्योगले १ हजार ३ सय ३४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको उद्योग विभागले उल्लेख गरेको छ ।
उद्योग विभागका अनुसार विदेशी लगानीका परियोजनाबाट १३ हजार १ सय ६९ जनालाई रोजगारी मिल्नेछ । हालसम्म नेपालका उद्योगमा लगानी गर्नेगरी आएका ६ हजार १ सय १२ प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकले देखाउँछ । ती प्रस्तावमा ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख ३८ हजार ३ सय ५ रुपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ । फागुन महिनामा मात्रै १२ वटा उद्योगका लागि ६ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको हो । गत साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा २ सय ५३ उद्योगमा विदेशीले लगानी गर्ने रुची देखाइ लगानी स्वीकृत गराइसकेका छन् ।आजको राजधानी दैनिकमा यो समाचार छ ।