२०८२ मंसिर २४ | Dec 10, 2025

२९५ गर्भवतीलाई पोषण भत्ता वितरण

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
612 views

तनहुँ । तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ ।

नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही रु पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म ५२ जनालाई रु दुई लाख ६० हजार रकम प्रदान गरिएको हो ।

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरुलाई रकम प्रदान गरिएको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिए।

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक स्वास्थ्य परीक्षण गराउका गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गरिने उनले बताए । यसअघि गर्भवतीलाई नगद नै वितरण गर्ने गरिएको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । चालु आर्थिक वर्षमा ‘क’ वर्गको दुई, ‘ख’ वर्गको २९, ‘ग’ वर्गको १८ तथा ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिए। गत वर्ष एक सय ९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया