२०८२ आश्विन १६ | Oct 02, 2025

अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराऔँः राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३१
|
612 views

ललितपुर । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारसम्बन्धमा तत्काल जानकारी गराउन आग्रह गरेको छ। बैंकले वित्तीय सचेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

‘सूचनामा भनिएको छ, डिजिटल वित्तीय सेवा जति आधुनिक हुँदै गएको छ, वित्तीय ठगी र अपराधका शैली पनि त्यति नै फरक, नयाँ र जटिल बन्दै गएको छ’, सूचनामा भनिएको छ, ‘तपाइँले आफ्नो मोबाइल वा ई–मेलमा आएको ओटीपी आफ्नो व्यक्तिगत उपकरण (मोबाइल, कम्प्युटर, एटीएम आदि) तथा ई–मेलको पासवर्ड कसैलाई सेयर गरेको अवस्थामा त्यस्तो व्यक्तिले तपाइँको बैंक खाताबाट अनधिकृत कारोबार गर्न सक्छ र तपाइँ वित्तीय ठगीमा पर्न सक्नुहुन्छ। यस्तो अवस्थामा कहाँ र कसलाई खबर गर्ने भन्ने जानकारी लिनु भएको छ ?’

केन्द्रीय बैंकका अनुसार सबै बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगका लागि कस्टमर सपोर्ट टिमको व्यवस्था गरेका हुन्छन्। ‘कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाइमा खबर गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ, ‘वित्तीय ठगीमा संलग्न हुनेहरूले छोटो समयमा धेरै खाताहरुमा रकमान्तर गर्ने भएकाले जति समय खर्च भयो त्यस्तो कारोबारको पहिचान गर्न त्यति नै कठिन हुँदै जान्छ।

तसर्थ, आफू वित्तीय ठगीमा परेको वा आफ्नो खाताबाट अनधिकृत वित्तीय कारोबार भएको भेटिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराई सम्भावित थप नोक्सानीबाट जोगिऔँ।’ अनधिकृत वित्तीय कारोबारको यथाशीघ्र जानकारी गराई सम्भावित थप ठगीबाट जोगिन नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया