ललितपुर - ललितपुर । नेपाल राष्ट्र बैंकले अनधिकृत रुपमा कर्जा लिने वा दिने दुवैजनालाई जरिवाना सहित चार वर्षको कैद तोकेको छ । यस्तो किसिमले कर्जा लिने/दिनेलाई ४ वर्षसम्म कैद सजायको व्यवस्था रहेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय सचेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। यदि कसैले अनधिकृत रुपमा कर्जा लिए वा दिएमा त्यस्ता व्यक्तिलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो भराइ बिगोबमोजिम जरिवाना र ४ वर्षसम्म कैद सजायको व्यवस्था रहेको बैकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, “कसैले पनि बैंक तथा वित्तीय संस्थाबाट गलत, झुट्टा वा नरहेको तथा नभएको वित्तीय विवरण पेस गरी वा कृत्रिम व्यवसाय खडा गरी, धितोको अस्वाभाविक रुपमा बढी मूल्यांकन गरी, झुट्टा विवरणका आधारमा परियोजनाको लागत अस्वाभाविक रुपमा बढाई कर्जा लिनु वा दिनु गैरकानुनी कार्य हुनेछ” ।
नेपाल राष्ट्र बैंकले कर्जाको सदुपयोग गर्न र यसको दुरुपयोग गर्दा हुने कानुनी सजायबाट बच्न सबैलाई अपिल समेत गरेको छ।

बिजनेस पाटी